सप्तरीको तिलाठी कोइलाडीको छुट्टै आइसोलेशन
हाल उक्त आइसोलेशन केन्द्रमा ३४ जना सङ्क्रमितलाई राखिएको छ ।

२०७७ साउन २९ बिहीबार, दिउँसो ३:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । कोरोना भाइरसका सङ्क्रमितलाई व्यवस्थापन गर्न सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।
तिलाठी कोइलाडी–२ लौनियामा तीव्ररूपमा सङ्क्रमण फैलिएसँगै राजविराजस्थित आइसोलेशन केन्द्रमा सङ्क्रमित व्यवस्थापनमा समस्या हुन थालेपछि गाउँपालिकाले आफ्नो तहको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।
९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तिलाठी कोइलाडी गाउँपालिका एकमात्र स्थानीय तह हो ।
जिल्लास्तरिय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा दुईपटक निर्णय भए पनि अन्य स्थानीय तहले आइसोलेशन सञ्चालनमा चासो नदिएपछि बुधबार पुनःबसेको बैठकमा समेत अन्य स्थानीय तहले छुट्टै आइसोलेशन सञ्चालन गर्न रुचि देखाएनन् ।
बैठकले छुट्टै आइसोलेशन सञ्चालनमा ल्याउने रुचि नदेखाए पनि जिल्लामा थप एक स्थानमा न्यूनतम १०० श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय भने गरेको छ ।
स्थानीय तहले बिरामीको अनुपातमा खर्च बेहोर्ने तर व्यवस्थापनको जिम्मेवारीमा नअल्मलिने अडान राखेपछि आइसोलेशन सञ्चालन हुने ठाउँको स्थानीय तहले व्यवस्थापनको जिम्मा लिने तर खर्च सबै स्थानीय तहले बेहोर्ने गरी निर्णय भएको छ ।
अन्य स्थानीय तहले छुट्टै आइसोलेशन सञ्चालनमा नल्याए पनि तिलाठी कोइलाडी गाउँपालिकाले वडा नं २ स्थित पब्लिक उच्च माध्यमिक विद्यालय लौनियामा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सतिषकुमार सिंहले जनाएका छन् ।
हाल उक्त आइसोलेशन केन्द्रमा ३४ जना सङ्क्रमितलाई राखिएको छ ।
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाकाअनुसार ५० श्ययाको आइसोलेशन केन्द्रमा अहिले ३४ जना सङ्क्रमितलाई दुई जना स्वास्थ्य सहायकको निगरानीमा राखिएको छ । रासस
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…