सिरहा नपामा लुट, २८ गुणासम्म बढी मूल्यमा सामान खरिद
यता, प्रजिअ प्रदीपराज कणेलले अनियमितता छर्लङ देखिएको र अब तपाईको कदम के हुने भन्ने प्रश्नमा उनले छानविन थालिने बताए ।

२०७७ साउन २५ आइतबार, दिउँसो १:२५ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई तीनदिन भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको विवरण बुझाउन ताकेता गर्ने निर्णय गर्यो ।
निर्णयसँगै जिल्लाका १७ वटै स्थानीय तहरुलाई खर्च विवरण पठाउन ताकेता गरियो । सबै स्थानीय तहलाई दिन दिनभत्रै खर्च विवरण उपलब्ध गराउन भनिएकोमा बिहीबार जिल्लाका १२ स्थानीय तहले विवरण बुझाए ।
जसमा सिरहा नगरपालिकाले झण्डै ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको विवरण बुझायो । नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण हेर्दा सामान खरिदमा व्यापक अनियमिता भएको देखिएको छ ।
कोरोना रोकथामका लागि नगरपालिकाले राहत वितरण तथा अन्य समाग्री खरिदमा सामानको २८ गुणासम्म बढी मूल्यमा खरिद गरी ब्रह्मलुट मचाएको देखिएको हो । विवरण अनुसार, नगरपालिकाले २८ सय ७७ रुपैँयाको दरले १ सय ११ वटा तकियाको खोल खरिद गरेको छ ।
खोल खरिदमा जम्मा ३ लाख १९ हजार २ सय ७५ रुपैँयख खर्च गरेको विवरणमा उल्लेख छ । यस्तै, ३ हजार ९ सय ३१ रुपैँयाको दरले ५ सय ११ वटा तकिया खरिद गरेको देखाएको छ । तकिया खरिदमा नगरपालिकाले २० लाख ८ हजार ९ सय ५० रुपैँया खर्च गरेको छ ।
यसैगरी, नगरपालिकाले बजारमा एक हजारभन्दा पनि कम पर्ने रेनकोट १६ हजार ५ सय ४८ रुपैँयाका दरले एकसय १५ थान खरिद गरेको देखाएको छ । यस्तै, आठ हजार ७१ रुपैँयाका दरले ५ सय ५८ थान तन्ना खरिदमा ४५ लाख ३ हजार ७ सय ७५ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, ९ हजार २ सय ५ रुपैँयाको दरले ३ सय ३७ थान रेनवुट खरिदमा नगरपालिकाले ३१ लाख २ हजार १ सय ५० रुपैँया खर्च गरेको छ । यस्तै, ३ सय ४९ वटा बेड निर्माणमा २५ लाख ९ हजार ४ सय रुपैँया खर्च गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै, ८७ हजार ५ सय ७५ थान माक्स खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैँया खर्च गरेको देखाएको छ । नगरपालिकाले २२ रुपैँया ८७ पैसामा खरिद गरेको मास्क बजारमा १० रुपैँया प्रति थान पाइने गरिएको छ ।
यसैगरी, ७ थान थर्मलगनमा १५ हजार ७ सय ५३ रुपैँया खर्च गरेको छ । ग्लोव्समा ६८ लाख ८ हजार ८ सय रुपैँया खर्च गरेको पाइएको छ । नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार ग्लोब्स प्रति थान १८ रुपैँया ५८ पैसाको दरले किनेको छ । जबकी, बजार भाउको मूल्य अनुसार १५ रुपैँया मात्र पर्दछ ।
यस्तै, ५ हजार ९ सय ९९ लिटर सेनिटाइजर १४ लाख १ हजार ९७ हजार रुपैँयामा खरिद गरेको छ । यस्तै ७२ कार्टुन साबुन खरिदमा नगरपालिकाले १७ लाख २ हजार १ सय ९५ रुपैँया खर्च गरेको छ । यस्तै २ सय २५ थान पि.पि.ई. खरिदमा ९१ लाख ८ हजार ४ सय ९१, किटनाशक औषधि छरिर्ने स्प्रे ५ हजार रुपैँया खरिद गरेको छ । झुल सुपानेटमा ३ लाख ३० हजार रुपैँया खर्च गरेको विवरणमा उल्लेख छ ।
कम्बलमा ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ । विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधी छरिने स्प्रे ठुलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता १३ लाख ५४ हजार, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।
त्यसैगरी, वडाबाट वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरण १ कारोड ४ लाख ८४ हजार ९ सय १६ खर्च गरेको नगरपालिकाले जनाएको छ ।
यता, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले नगरपालिका मेयर अशेश्वर यादवले आफूसँग भेटेर भुलवश कुनैकुनैमा बढी मूल्य हुन गएको र त्यो सच्याएर पुनः विवरण पठाउने बताएको जनाए । अनियमितता छर्लङ देखिएको र अब तपाईको कदम के हुने भन्ने प्रश्नमा उनले छानविन थालिने बताए ।
पारदर्शीता सबैको अधिकार भएको भन्दै खर्च विवरण सार्वजनिक गर्न लगाएको तथा अनियमतता भएको पाइए कानुनी दायरामा ल्याइने प्रजिअ कणेलले बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…