धनुषाको महेन्द्रनगरमा सुविधा सम्पन्न अस्पताल सँचालनमा
उनले अब यस क्षेत्रका बिरामीहरुलाई सक्दो यही उपचार सेवा उपलब्ध गराउने प्रयास गर्ने बताए ।

२०७७ साउन १४ बुधबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामपछि धनुषाको दोश्रो सहरोन्मुख सहर महेन्द्रनगरमा सोमबार सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वडा नम्बर ५ अन्तर्गत महेन्द्रनगरमा ‘महेन्द्रनगर हेल्थ केयर’ को एक कार्यक्रम बीच उद्घाटन गरी सुरु भएको छ । हेल्थ केयरको उद्घाटन क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले गरेका छन् ।
उद्घाटनपछि मेयर पजियारले नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि संचालकलाई शुभकामना व्यक्त गरेका थिए । उनले हाल कोभिड–१९ को यस्तो परस्थितीमा स्वास्थ्य संस्था संचालनमा ल्याउनु सराहणीय रहेको बताए ।
मेयर पजियारले निजी क्षेत्रबाट सेवाभावले स्वास्थ्य सेवा शुरु गर्नु राम्रो विषय भएको भन्दै नागरिक सेवामा सजक रहँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सुझाव दिए ।
मेयर पजियारले स्वास्थ्य सेवा संवेदनशिल सेवा भएकोले सेवा प्रवाहमा गम्भीर बन्न आग्रह गरे । उनले व्यवसायिकतामा सेवाभाव मिसिएको कर्म सफल हुने भन्दै विरामीको भावना बुझेर सेवा प्रवाह गर्न आग्रह गरे ।
कार्यक्रममा हेल्थ केयरका संचालक डा.जगदीश यादवले ग्रामिण भेगका नागरिकको उपचारका लागि सेवाभावलाई प्राथमिकतामा राख्दै यो हेल्थ केयर संचालनमा ल्याएको बताए । हेल्थ केयरमा जेष्ठ नागरिक, गरिव तथा विपन्नता भएका व्यक्तिहरुलाई विशेष छुटका साथ सेवाप्रवाह गरिने संचालक डा.यादवले प्रतिवद्धता जनाए ।
उनले अब यस क्षेत्रका बिरामीहरुलाई सक्दो यही उपचार सेवा उपलब्ध गराउने प्रयास गर्ने बताए । बाहिर जानुपर्ने बाध्यात्मक अवस्थालाई न्यूनिकरण गर्न बाहिरबाट विभिन्न विशेषज्ञहरुको टोली ल्याएर यही सेवा दिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…