प्रदेश २ : नेता यादवले गरे मुख्यमन्त्री सहित मन्त्रीहरुको राजीनामा माग
प्रदेश २ मा दुई दलकै संयुक्त सरकारले छुट्टाछुट्टै संसदीय दल कायमै राखेको छ।
२०७७ असार २९ सोमबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग गरिएको छ ।
जनकपुरस्थित मुख्यमन्त्रीको आफ्नै सरकारी निवासमा बसेको पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुको राजिनामा माग गरिएको एक नेताले बताए ।
सरकार चलाउन नसकेको र बजेटलाई आफ्नो केन्द्रित गरेको भन्दै सांसदहरुले राजीनामा मागेका हुन् ।
सर्लाहीका प्रदेश सांसद अशोक कुमार यादवले मुख्यमन्त्री राउत र मन्त्रीहरुले काम गर्न नसकेको भन्दै राजीनामा मागेका हुन । ‘मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो जिल्ला र पालिकामा मात्रै केन्द्रित भए ।
प्रायःजसो सबै योजना आफ्नो क्षेत्रमै केन्द्रित गरेको र प्रदेश सरकारबाट गरिएको अपेक्षा हामीले जनतालाई गरेको वाचा पूरा नसक्ने भन्दै राजिनामाको अर्को विकल्प नरहेको बताए । ‘तपाईंहरु सरकार चलाउन सक्नु भएन । राजीनामा गर्नुस् । अर्को टिमले सरकार चलाउँछ ।’
‘प्रदेश सरकारले अहिलेसम्म तीनवटा आर्थिक वर्षको बजेट चलाइसक्यो । प्रदेशमा कहाँ र कुन ठाउँमा प्रभावकारी विकास भएको छ, देखाइदिनु पार्यो सांसद यादवले बैठकमा भने, ‘मन्त्रीहरु आफ्नै स्वार्थमा लागेका छन् । बजेट जति आफ्नै पालिका र क्षेत्रमा लगेका हुन् ।
प्रदेश २ मा समाजवादी पार्टीबाट मुख्यमन्त्री राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह सरकारमा छन् ।
सांसद यादवले संसदीय दलको बैठकमा सरकार र मन्त्रीहरुको काम–कारबाही प्रभावकारी नभएको भन्दै आलोचना गरिएको बताए ।
संसदीय दलको बैठकमा सांसद पारस साह, करिमा बेगम, सञ्चमाया मोक्तान लगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका थिए ।
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपनि प्रदेश २ मा दुई दलकै संयुक्त सरकारले छुट्टाछुट्टै संसदीय दल कायमै राखेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश ठाकुर
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…