स्वास्थ्य र कृषि क्षेत्रमा बजेट पुगेन : बाबुराम
भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणी गरे ।

२०७७ जेठ १५ बिहीबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने बताएका छन् ।
उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसक्ने बताए ।
संघीय संसद भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै डा. भट्टराईले २२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा भएको बताए । सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपैयाँ मात्र बजेट थप गरिनु पर्याप्त नहुने भट्टराईले बताए । सरकारले अप्ठेरो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको टिप्पणी छ ।
अहिलेको संकटमा रेल र पानीजहाजको कुरा गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…