आजदेखि जनकपुरमै 'कोरोना भाइरस' को नमुना परीक्षणको तयारी
अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ ।

२०७६ चैत १९ बुधबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण आजदेखि जनकपुरबाट पनि हुने भएको छ ।
आज साँझैदेखि जनकपुरबाट कोरोना सम्बन्धी स्वाब परीक्षण हुने भएको छ । उपत्यकाबाहिर कोरोना कोरोनाको नमूना परीक्षण धमाधम भइरहेको छ ।
हिजो (मङ्गलबार) परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।
धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताउनुभयो ।
ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी दिनुभयो । अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि आज साँझबाट नमूना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी चारै स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ ।
यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।
मन्त्रालयले अहिलेको लागि दैनिक १२ जनाको नमूना परीक्षण गर्ने गरेता पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर सातवटै प्रदेशबाट दैनिक एक हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको समितिका खनालले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…