मेयर र प्रहरीको प्रयास : शहिदनगरमा डिजे गीत र हर्न प्रतिबन्ध !
महत्वपूर्ण फोन वा कुराहरु चर्को साउण्डका कारण गर्न नसकेर प्रतिकूल असर पर्दै आएको देखिएको छ ।

२०७६ फागुन १४ बुधबार, राति ८:५४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा अब डिजे बाजा र हर्न (लाउडस्पीकरको होर्न) उपर प्रतिबन्ध लगाइएको छ ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष पहल तथा ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रयासमा डिजे बाजा, गीत तथा हरन निशेष गरिएको हो । वैवाहिक कार्यक्रम, पूजापाठ वा अन्य कार्यको लागि पनि डिजे मिक्स गरिएको गीत, भोजपूरी अश्लिल गीत र रुख वा छतमा झुण्डयाउँदै आएको हरन उपर प्रतिबन्ध लगाएको हो ।
ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपक बाबु केसीका अनुसार, एक साताभित्रै दर्जन बढी जनालाई कारवाही गरिएको छ । पूजाआजा, विवाह, जन्मदिन वा अन्य उत्सवको मौका छोपेर चर्को स्वरमा डिजे मिक्स गरिएको गीत, अश्लिल भोजपुरी किसीमको गीत बजाउन रोक लगाइएको हो ।
यसका साथै, चर्को स्वरको लागि माथि झुण्डयाउँदै आएको हरन (धुधुवा) समेत लगाउन बन्देज गरिएको हो । पूजापाठ, वैवाहिक कार्यक्रम वा अन्य उत्वसमा लाउडस्पीकर उपर कुनै प्रतिबन्ध नलगाइएको बताउँदै प्रहरी नीरिक्षक केसीले आफ्नो उत्सवको नाममा अरुलाई दुःख दिने जस्ता कार्य उपर प्रतिबन्ध लगाइएको बताउनुभयो ।
“हामीले कसैको धार्मिक आस्था, सँस्कृति उपर बन्देज लगाएका होईनौ, तर उत्वसकै नाममा चर्को स्वरमा हरन, डिजे ढम ढम बज्ने गीतले मुटु रोगका विरामी, गर्भवति महिलालाई अत्यधिक असर पार्ने गरेको छ । गर्भवति महिलाले चर्को स्वरकै कारण पनि बच्चा अपाँग जन्माउन सक्छिन् । मुटु रोगीको ज्यान जान सक्छ । यो चिकित्सकले नै भनिसकेको छ । समाजिक सदभाव खलबलाउनु भएन् ।”– उहाँले भन्नुभयो ।
विहेमा जन्ती आउँदा वा जाँदा ट्रयाक्टरमा डिजे बाजा लोड गरी चर्को स्वरमा धन्काउनेलाई मात्र कारवाही गर्ने गरेको बताइएको छ । यसअघि त्यस्ता ७ जनालाई पक्राउ गरी अब देखि चर्को स्वर र अरुलाई दुःख हुने गरी नबजाउने प्रतिबद्धता जाहेरपछि छाडिएको बताउनुभयो । उहाँले भन्नुभयो –“ हामीले बाजा उठाउने होईन, बाजा मास्टर वा सम्बन्धित व्यक्तिलाई नै कारवाही थालेका छौं ।”
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले यसअघि नै नगरपालिकामा डिजे र चर्को स्वरको बाजा प्रतिबन्ध गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णय कार्यन्व्यन हेतु अब कारवाही प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…