मधेशको महाकुम्भ १५ दिने 'परिक्रमा' मा प्रचण्डले हेलिकप्टरबाट पुष्प वर्षा गर्ने
डोला प्रस्थानको बेला उहाँहरुले सलामी दिने कार्यक्रम रहेको जनाइएको छ ।

२०७६ फागुन ९ शुक्रबार, दिउँसो ३:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमा (पैरकनमा) आईतबारदेखि सुरु हुँदै छ ।
परापूर्वकालदेखि घुम्दै आएको १ सय २० किलोमिटरको परिक्रमामा यसपाली पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएको छ । फागुन ११ गतेदेखि सुरु हुने परिक्रममा प्रचण्डले पुष्पवृष्टि (पुष्प बर्षा, फूल बर्षा) गर्ने कार्यक्रम तय भएको हो ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ८ को कचुरी स्थित रहेको मठबाट भगवान राम सीताको डोला उठने गरिन्छ । सोही अवसरमा फागुन ११ गते विहान ६ः३० बजे प्रचण्डले नेपाली सेनाको हेलिकप्टरबाट पुष्प वर्षा गर्ने कार्यक्रम रहेको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले जानकारी दिनुभयो ।
मेयर यादवका अनुसार, सो कार्यक्रममा नेता प्रचण्ड सहित मिथिला बिहारीको डोलालाई पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, साँसद जुली कुमारी महतो सहितले सलामी दिने कार्यक्रम रहेको छ । डोला प्रस्थानको बेला उहाँहरुले सलामी दिने कार्यक्रम रहेको जनाइएको छ ।
फागुन कृष्णपक्षको औासीबाट मधेश मिथिलाको महाकुम्भ माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा आरम्भ हुने गरेको छ । आईतबारदेखि प्रारम्भ हुने परिक्रममा राति धनुषाको हुनमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोलीपल्ट सोमबार विहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेको छ ।
श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने परम्परा छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।
सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ ।
त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर र्फकेर विश्राम गर्छन् ।
फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् । परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मधेशको महाकुम्भ भनेर प्रसिद्ध छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…