जनसैलावबीच राष्ट्रपति भण्डारीले भन्नुभयो– 'मधेशमा कुरिति कायमै छ'
हायज्ञमा पूजाआजा गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले मधेश सरकारको प्रशंसा गर्नुभयो ।

२०७६ फागुन ६ मंगलबार, राति ८:०३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । राष्ट्रपति विद्या देवी भण्डारीले मधेशमा अहिले पनि समाजिक कुरिति कायमै रहेको बताउनुभएको छ ।
ऐतिहासिक महत्व बोकेको मधेसी भूमिमा अझै पनि विभिन्न खाले सामाजिक कुरीति कायम रहेकोमा दुःख प्रकट गर्दै उहाँले यसलाई जरैसँग हटाउनुपर्ने बताउँदै ‘मधेसमा अझै पनि दाइजो, बोक्सी प्रथा, छुवाछुत, भेदभाव लगायतका सामाजिक कुरीति कायमै छन् ’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘यस्ताखाले कुरीतिहरुलाई जरैदेखि उखालेर फ्याक्नुपर्छ ।’– भन्नुभयो ।
प्रदेश नं. २ को रौतहटमा आयोजित मधानी महायज्ञमा पूजाआजा गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले मधेश सरकारको प्रशंसा गर्नुभयो ।
मंगलबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महायज्ञमा सहभागी हुन आउनु भएका राष्ट्रपति भण्डारीले नेपाल सरकारले मधेशको विकासको लागि विभिन्न दीर्घकालीन योजना ल्याएको भन्दै यसले मधेसलाई विकासको पथमा डोर्याउने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले मधेश सरकारको तर्फबाट मुख्यमन्त्री मो. लालबाबू राउतले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियान अति प्रशंसनीय भएको बताउनभयो । नेपाल सरकारले मधेशको विकासको लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

उहाँले बेटी पढाउ बेटी बचाउ अभियानको प्रशंसा गर्दै यसले महिला शशक्तीकरण र महिला शिक्षाको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले हुलाकी राजमार्ग, औद्यौगिक वस्ती विकास, जनताआवास कार्यक्रम, स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने, शान्ति सुरक्षाको व्यवस्था गर्ने लगायतको कार्यहरु गरेको भन्दै उहाँले सरकारलाई धन्यवाद दिनुभयो ।
‘तराइ–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निमार्णको कार्य द्रुत गतिमा अघि बढिरहेकाले यसको निमार्ण सम्पन्न पछि तराइ–मधेश क्षेत्रको आर्थिक, सामाजिक एवम् पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने राष्ट्रपति भण्डारीले थप्नुभयो ।
‘देश सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यमा अगाडि बढेको छ’ उहाँले भन्नुभयो, ‘यसलाई सबै मिलेर सफल पार्नुपर्छ ।’निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले देशकोे समृद्धिमा ठूलो योगदान पुर्याउने भन्दै राष्ट्रपति भण्डारीले यसका लागि स्थानीय सरकारको साथले केन्द्रीय सरकारलाई बल पुग्ने बताउनुभयो ।
नेपाल बहुधार्मिक, वहुसांस्कृतिक एवम् बहुभाषिक देश भएकाले यसको विश्वमा छुट्टै महत्व रहेको भन्दै उहाँले यसको विविधता संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
साथै, उहाँले देशकै अन्न भण्डारको रुपमा रहेको मधेश बाढीको र डुबानको चपेटामा परिरहनु दुःखद भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नु पर्नेमा सरोकारवाला निकाय सबैले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले यस क्षेत्रमा माछापालनको राम्रो सम्भावना रहेकाले यसलाई ठोस योजनाबनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । ‘यस क्षेत्रको कृषि उत्पादनले देशको बढ्दो व्यापार घाटालाई कम गर्न सक्छ’ उहाँले भन्नुभयो’, कृषि विकासले देशलाई समृद्धिमा लम्काउन सक्छ ।’
महिला, बालबालिका एवम् जेष्ठ नागरिक प्रति राज्यले उच्च सम्मान राख्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले उनीहरुको सामाजिक सुरक्षामा राज्य अझ बढी उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
बेरोजगारी सामाजिक विकृतिको प्रमुख कारण रहेकाले यसका लागि मधेसमा रोजगारी सृजना गर्न पर्यटनको विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मौलापुरमा रहेको ऐतिहासिक शिवमन्दिरमा पूजाअर्चना गर्नुभएको थियो ।
सो क्षेत्रमा पर्यटनको विकास गर्ने उद्धेश्यले पुरातात्विक महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ आयोजना नगरप्रमुख रिनाकुमारी शाहले जानकारी दिइन। मन्दिर परिसरमा करिब दुई हजार वर्ष पूरानो दरबारको अवशेष फेला परेको र सो शिवमन्दिर सोही दरबारको भाग रहेको हुन सक्ने पुरात्तात्विकविद्हरुको भनाइ छ ।
मौलापुरमा उत्खननको क्रममा भेटिएको शिवमन्दिरको बेलायती विज्ञहरुको एक टोलीले जाँच गरेको थियो । त्यहीक्रममा दरबारका भग्नावशेष फेलापारेको थियो ।
भ्रमण वर्ष २०२०लाई सहयोग पुग्ने हेतुले आयोजना गरिएको उक्त महायज्ञमा आयोजक मौलापुर नगरपालिकाले ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको नगरप्रमुख रिना साहले बताइन।क्षेत्रका संघीय सान्सद एव पुर्व मन्त्री प्रभु साहको विशेष नीति निर्देशनका आयोजना गरिएको सो महायज्ञमा ठूलो संख्यामा देश बिदेशको पर्यटक भित्रिने बिश्वास छ।
सो अवसरमा विभिन्न सास्कृतिक झाँकीहरु प्रर्दशन गरिएको थियो । कार्यक्रममा सहभागी हुन बिभिन्न स्थानहरुबाट ३०औ हजार भन्दा बढीको संख्या सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…