प्रेमीकाको दाजुद्धारा प्रेमीको हत्या !
राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई फोन गरी कुडिया गाउँको बाँसघारीमा बोलाएर भेटेका थिए ।

२०७६ माघ २६ आइतबार, बेलुकी ५:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको दक्षिणी भेगमा एक युवकको हत्या भएको छ ।
हत्यामा ती युवककै प्रेमिकाका दाजुहरु संलग्न रहेको आरोपमा प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुखको रुपमा हालै आएका एसपी रवीराज खड्काले ईशनाथ नगरपालिका–८ मन्सरीका एहतेसामुल हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको बताए ।
घटना विवरण अनुसार माघ १५ गते साँझ एहतेसामुल हक आफ्नो घरबाट दिदीभिजानुलाई भेट्न मोतिपुर गएका थिए । भिनाजु कै बिआर ०५ सी ८२९९ नम्बरको मोटरसाईकल लिएर मोतिपुरबाट उनी सोही दिन राती करिब ८ बजे घर फर्किन निस्केका थिए ।
एहतेसामुल हक चढेको मोटरसाईकल भोलिपल्ट बिहान राजपुर नगरपालिका–७ अकोलवा गाउँछेउको भकुवा नदी किनारमा बेवारिसे अवस्थामा फेला परे पनि उनी सम्पर्क्विहीन भएका थिए । भोलिपल्ट अबेरसम्म पनि उनी घर नफर्किएपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा खबर गरेका थिए ।
२० गते बिहान ९ बजे राजपुर नगरपालिका–६, कुडिया गाउँदेखि ७०० मिटर पूर्वतर्फ भकुवा खोलामा उनको शव पानीमा घोप्टो परेको अवस्थामा प्रहरीले फेला पारेको थियो । शव बरामदपछि २१ गते प्रहरी निरीक्षक नविन सिंहको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोलीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले केही तथ्य पत्ता लगायो । जसअनुसार एहतेसामुल गत १५ गते मोतिपुरबाट राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई फोन गरी राजपुर नगरपालिका वडा–६ कुडिया गाउँको बाँसघारीमा बोलाएर भेटेका थिए । ती युवतीका दाजुुहरुले बाँसघारीमा राति बहिनीलाई एहतेसामुुल हकसँगै देखेपछि युवती घरतिर भागिन् भने त्यहाँबाट भागेका एहतेसामुललाई उनीहरुले लखेटेर नियन्त्रणमा लिएको बताइन्छ ।
एहतेसामुलको मोबाईल खोसेर उनीहरुले घाँटी थिची उनको हत्या गरेको र शवलाई खोलामा फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए । हत्याका आरोपी दुईजना पक्राउ परे पनि असरफ अली भने फरार रहेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरिसकेको डिएसपी कार्कीले बताए । मृतकका बाबु शेख महमद रईशुल आजमको किटानी जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट आइतबार ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…