राजपाको लागि सत्ता होइन, मुद्दा प्राथमिकतामा छ : महेन्द्रराय यादव
नेकपाले आफैंले उपसभामुख दिन चाह्यो भने त्यसको बारेमा पार्टीमा छलफल गर्ने धारणा समेत उनल राखे ।

२०७६ माघ १४ मंगलबार, बेलुकी ५:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक एवं सांसद महेन्द्रराय यादवले आफूहरुको माग र मुद्दा सम्बोधन भएमात्र सरकारलाई समर्थन गर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलवार सम्बोधन गर्दै उनले वितगमा आफूहरुले सरकारलाई सहयोग गरेपनि सम्झौता कार्यान्वयन नगरेको भन्दै यस्तो धारणा राखेका हुन् । विगतमा एमालेका कारण संविधान संशोधन नभएको बताउँदै उनले अहिले एमाले र माओवादी केन्द्र एउटै पार्टी भएको र त्यसबाट संशोधन हुने अपेक्षा आफूले लिएको बताए ।
समाजवादी पार्टीले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भएको तर १८ महिना वित्दा समेत सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । आफूहरुले पनि एक वर्षसम्म सरकारलाई समर्थन दिएको तर रेशम चौधरीको रिहा तथा संविधान संशोधन नगरेको कारण आफूहरुले समर्थन फिर्ता लिएको बताउँदै उनले अहिले पनि माग पुरा गर्यो भने समर्थन गर्न तयार रहेको धारणा राखे ।
उनले एउटा पार्टीलाई सरकारबाट बाहिर गर्ने र अर्कोलाई सरकारमा लिने काम सरकारले गर्न नहुने बताउँदै आफूहरुले उपसभामुखका विषयमा नेकपासँग कुनै कुरा नभएको तर बाहिर बाहिर धेरै कुरा आएको टिप्पणी गरे । उनले राजपा नेपालको लागी सत्ता प्राथमिकता नभएको बताउँदै राजनीतिक मुद्दा प्राथमिकतामा रहेको टिप्पणी गरे ।
नेकपाले आफैंले उपसभामुख दिन चाह्यो भने त्यसको बारेमा पार्टीमा छलफल गर्ने धारणा समेत उनल राखे । उनले उखु किसानको बक्यौता रकम नदिएको विषय पनि उठाएका थिए । नेपालको राजनीतिक वृत्तमा यतिबेला राजपा सरकारमा जाने विषयले स्थान पाएका छन् भने राजपाले यसलाई नकार्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…