प्रदेश २ मा राष्ट्रियसभाको चारवटै सिट हामी जित्छौं : निधि
उपसभापति निधिले जनकपुरमा पत्रकाहरुमाथि भएको हातपातसम्बन्धी घटनाको निन्दासमेत गरेका छन् ।

२०७६ पुस २३ बुधबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को चारवटै सिट आफूहरुको गठबन्धनले जित्ने दाबी गरेका छन् ।
बस दुर्घटनामा निधन भएका महासमिति सदस्य ललनकुमार रायप्रति श्रद्धाञ्जली दिन महोत्तरी जाने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति निधिले यस्तो दाबी गरेका हुन् । आम जनता वर्तमान सरकारको क्रियाकलापबाट आजित भइसकेको र जनताकै प्रतिनिधि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेकोले कांग्रेस र समाजवादी गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निधिले बताए ।
राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी २६ पौषमा जनकपुर र २७ गते महोत्तरीमा प्रदेश २ का मतदातासहित दुबै दलको संयुक्त कार्यक्रम हुन लागेको उनले जानकारी दिए । पछिल्लो राष्ट्रियसभा निर्वाचनझैं समाजवादी पार्टी र राजपासँग गठबन्धन गर्ने तयारी रहेपनि यसो हुन नसकेको उनले बताए ।
राष्ट्रियसभा निर्वाचनपछि समाजवादी पार्टीसँगको गठबन्धन जारी रहने नरहनेबारे तत्काल कुनै निक्र्यौल नलागे पनि संघीयता पक्षधरबीच सहकार्य हुनुपर्ने आफूहरुको धारणा रहेको निधिले बताए । यस्तै, उपसभापति निधिले जनकपुरमा पत्रकाहरुमाथि भएको हातपातसम्बन्धी घटनाको निन्दासमेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…