सिरहामा विकराल रुप लिदै 'अवैद्य गर्भपतन'
प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीसँगको समन्वयमा चाँडै कानुनी गतिविधिलाई अगाडि बढाउने

२०७४ पुस २४ सोमबार, बेलुकी ६:०३ बजे२ मिनेट पढाइ

विनय यादव, सिरहा, २४ पुस ।
सुरक्षित गर्भपतनको इजाजत नलिइकनै अबैद्य गर्भपतन गर्ने नीजि क्लीनिकहरुको बिगबिगी बढेको छ । सिरहामा निजी स्वास्थ्य केन्द्रहरुले अवैद्य गर्भपतन गर्ने अवैद्य क्रियाकलापमा सक्रियता देखाउन थालेपछि अबैद्य गर्भपतन विकराल रुप लिँदै गएको छ ।
सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुबाहेक सिरहामा निजी अस्पताल, पोलिक्लिनिक र क्लिनिक गरी ६५ वटाभन्दा बढी निजी स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य क्लिनिकले विरामीको साधारण रोग परिक्षण तथा उपचार गर्ने इजाजत पाए पनि कुनै पनि किसीमका शल्यक्रियाजन्य उपचार तथा गर्भपतन गराउन पाउँदैनन् तर नियमनकारी निकायको निगरानीको अभावले सबै पोलिक्लिनिक र क्लिनिकले लुकिछिपी अवैध गर्भपतनको काम गर्दै आइरहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, जिल्ला अस्पताल, लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल र लहानकै सप्तऋषि अस्पताल गरी तीन वटा अस्पताल, स्वास्थ्य कार्यालयद्वारा सञ्चालित १७ वटा प्रसुति केन्द्र तथा मेरी स्टोप्स र सुनौलो नेपाल गरी दुई वटा स्वास्थ्य सँस्थाले मात्र सुरक्षित गर्भपतनको सेवाको इजाजत पाएका छन् ।
स्वास्थ्य कार्यालयमा दर्ता भएका स्वास्थ्य केन्द्र मात्र होइन चोक, बजार र सिरहाका गल्ली गल्लीमा फार्मेसीको आडमा सञ्चालन भइरहेका गोप्य क्लिनिकहरुको प्रमुख खेती नै गर्भपतन हुँदै आएको छ तर त्यसको ठीक विपरित सुरक्षित गर्भपतनको अनुमति प्राप्त गरेका स्वास्थ्य सँस्थाहरुमा भने गर्भपतन गराउनेहरु निकै कम जाने गरेका छन् ।
हामीकहाँ कहिलेकाहीं मात्रै गर्भपतन गराउने जोडी आउने गर्दछन्, रामकुमार उमाप्रसाद स्मारक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सुनिल कुशवाहाले भन्नुभयो, लुकिछिपी गर्भ बोक्नेहरु आउँदा समाजले थाहा पाउने भएकाले त्यस्ता जोडीहरु हामीकहाँ भन्दा पनि अवैध गर्भपतन गर्नेहरुकहाँ नै बढी पुग्ने गरेका छन् ।
अवैध रुपले सञ्चालित गर्भपतन केन्द्रहरुले नियम र कानूनको ख्यालै नराखी गोप्य रुपले गर्भपतन गराउने भएकाले उनीहरुले त्यसवापतको शुल्क पनि महङ्गै लिने गर्दछन् ।
यसरी गर्भपतन गराउँदा सेवाग्राहीहरुको अवस्था हेरेर १० देखि २५ हजारसम्म असुल्ने गर्दछन् । यति हुँदाहुँदै पनि गर्भपतन केन्द्रलाई विस्थापन तथा कारबाही गर्न स्थानीय प्रहरी निकाय र जिल्ला स्वास्थ्य कार्यालय समेत उदासिन बन्दै गएको देखिएको छ ।
लुकिछिपी गर्भपतन गराउनेहरुमा अधिकांश मात्रामा अविवाहित युवती र श्रीमान विदेश गएको अवस्थामा केटाकेटी पढाउन शहरमा डेरा गरी बसेका विवाहित महिलाहरु हुन्छन् भन्ने सुनिनमा आएको छ, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक युगेश्वर राउतले भन्नुभयो ।
अवैद्य गर्भपतन गराउने क्रममा स्वास्थ्य बिग्रिएको वा आफू ठगिएको अवस्थामा मात्रै हामीकहाँ आउने गरेकाले अवैद्य गर्भपतनको जालो ठम्याउन हामीलाई मुश्किल परेको हो ।
‘यसपालि स्थानीय तहदेखि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएको कारणले धेरै गर्नुपर्ने काम अलमलमै परेकोले यसतर्फ सोच्न नभ्याएका हौं, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासले भन्नुभयो ।
अब प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीसँगको समन्वयमा चाँडै कानुनी गतिविधिलाई अगाडि बढाउनेछौं भनेर थपे।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…