मधेशमा अब नेकपाको कार्ड चल्दैन : राज्यमन्त्री यादव
प्रभू साह जी एउटा पात्र हुन केपी ओली सरकारका , केपी ओली र प्रचण्डका परिचालित पात्र मात्र हुन उहाँ ।" - उनले भने

२०७६ कार्तिक १८ सोमबार, बिहान ९:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मधेशमा नेकपाको कार्ड नचल्ने बताएका छन् ।
नेकपाका नेता प्रभु साहले प्रदेश नं. २ को कृषि मन्त्रालयको भ्रष्टाचार छानविन हुनुपर्ने अभिव्यक्ति दिएपछि राज्यमन्त्री यादवले प्रदेश नं. २ मा नेकपाको कार्ड नचल्ने बताउँदै राजनीतिक प्रतिशोधका कारण निराधार आरोप लगाएको बताए । उनले नेता साहलाई कृषि मन्त्रालयमा भएको भ्रष्टाचारको प्रमाण पेश गर्न चुनौति समेत दिए । प्रदेश नं. २ सरकारको बढेको लोकप्रियतालाई खसाउन नेकपाका नेताहरुले आरोप प्रत्यारोप लगाएको आरोप उनले लगाए ।
नेकपाका प्रदेश नं. २ का अध्यक्ष समेत रहेका नेता प्रभू साहले समाजवादी नेतृत्वको सरकारको लोकप्रियतादेखि तर्सिएर बेतुका बयानबाजी गरेको राज्यमन्त्री यादवको कथन छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै राज्यमन्त्री यादवले भने, - "नेकपाका प्रदेश अध्यक्ष प्रभू साह ज्यूले बेतुका बयानबाजी गर्दैहुनुहुन्छ । उहाँ मधेशमा सत्तासिन रहेको समाजवादी पार्टीको जुन लोकप्रियता छ त्यसबाट घबराएर यस्ता बयानबाजी गर्नुभएको छ । कृषि मन्त्रालयमा भ्रष्टाचार भएको छ भने प्रमाण सहित आउन चुनौति दिन्छु म । अब यो बुझनुपर्छ उहाँलाई की मधेशमा नेकपाको कार्ड निश्चीत चल्दैन ।"
नेकपा जहिले पनि मधेशवादको पक्षमा नरहेको औल्याउँदै उनले गौरमा भएको घटनालाई वर्तमान राजनीतिसँग जोडेर समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दण्डित गर्ने अभिप्रायले कसमस कसमस गरेको आरोप लगाए । उनले भने, - "समान विचारधाराको वक्तवाजी गर्नुपर्छ, यदि गौर घटनालाई जोडेर राजनीतिक प्रतिशोधमा उत्रन्छ भने त्यो भन्दा पहिले प्रभू साह ज्यूलाई चुनौति दिन चाहन्छु की सप्तरीको मलेठ घटनाको नाईके केपी ओलीलाई हथकडी लगाउनुस् ।"
मधेशलाई नेकपाले क्रिडास्थल बनाउन खोजेको आरोप लगाउँदै विगतमा पनि नेकपाले मधेशलाई क्रिडास्थलको रुपमा बनाउने खोजेपनि त्यो सपना पूरा नभएको र आगामी दिनमा पनि नहुने दाबी उनले गरे । मधेश प्रदेश कहिल्यै पनि साम्यवादको अखाडा नरहेको बताउँदै उनले मधेश लोकतन्त्र, समाजवाद र पहिचानवादको पक्षमा रहेको औल्याए । - " ईतिहास साक्षी छ , मधेशलाई बनाउन कुलानन्द झा, गजेन्द्र बाबू र उपेन्द्र यादवले मधेशलाई आधार बनाएर समाजवादी लोकतान्त्रिक मधेश बनाउन खोज्दा त्यसबाट आत्तिएर प्रभू साह यस्तो बयानबाजी गर्न लाग्नुभएको छ । प्रभू साह जी एउटा पात्र हुन केपी ओली सरकारका , केपी ओली र प्रचण्डका परिचालित पात्र मात्र हुन उहाँ ।" - उनले भने
गत शुक्रवार सिम्रौनगढ नगरपालिका – ८ कचोर्वामा नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले प्रदेश सरकारले खुलेआम भ्रष्टाचार गरेको देखेर प्रदेशवासीले लज्जाबोध गर्न थालेको जीकिर गरेका थिए । अनुदान, ऋण, ट्याक्टर, मोटर बाँड्ने नाममा प्रदेशले चरम भ्रष्टाचार गरेकोले कारबाहीको विकल्प नभएको अध्यक्ष साहले माग राखेपछि अभिव्यक्ति टकराव बाँझिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…