आलममाथि ५ दिनको म्याद थप, गरे २७ वकिल नियुक्त
म्याद थपपछि अदालतबाट बाहिरिँदै गर्दा अफताव आलमले घटनै नभएको प्रतिक्रिया दिए ।

२०७६ कार्तिक ३ आइतबार, दिउँसो ३:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा बम विस्फोटमा परी घाइते भएका २२ जनालाई ईटा भट्टामा पोलेर मारेको आरोपमा थुनामा रहेका कांग्रेस सांसद अफताव आलमलाई दोस्रो पटक पाँच दिनको म्याद थपिएको छ ।
जिल्ला न्यायधिश चाणक मणी अर्यालको इजलाशले आलमलाई दोश्रो पटक पाँच दिनको लागि थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई म्याद प्रदान गरेको हो । यसअघि उनलाई ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । शुक्रबार बयानको लागि सरकारी वकिलमा पेश गर्दा आदलमले ब्लड प्रेसर कम भएको भन्दै बयान दिन मानेका थिएनन् ।
घटनास्थलबाट घाइतेलाई लोड गरेर ईटा भट्टासम्म पुर्याउने ट्याक्टरको नम्बर समेत खुलेको सरकारी वकिल खडिन्द्र कटुवालले बताएका छन् । कटुवालालले आलमविरुद्ध नयाँ थप अर्को जाहेरी परेको र त्यस उपर अनुसन्धान हुने बताए ।
सरकारी वकिल खडिन्द्र कटुवालका अनुसार उक्त ट्याक्टरको दर्ता बुझ्ने काम भइरहेको छ । घटनाका एक घाइतेको फरेन्सिक टेष्ट गर्नुपर्ने आधार सहित बहस भएको उनले बताए । असोज २६ मा इद्रिस गेट नजिकैबाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोपमा पक्राउ गरेको हो ।
म्याद थपका लागि अदालत ल्याइएका आलमका पक्षमा ८ जना कानून व्यवसायीले आज बहससमेत गरेका थिए । सरकारी वकिल खडिण्द्रराज कटुवालले भने आलमको विपक्षमा बहस गरेका थिए । आलमले अहिलेको मुद्दामा २७ जना कानुन व्यवसायी नियुक्त गरेका छन् ।
म्याद थपपछि अदालतबाट बाहिरिँदै गर्दा अफताव आलमले घटनै नभएको प्रतिक्रिया दिए । ‘घटना नघटेका कारणले महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो, त्यही नै सत्य हो, पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेकोमा राज्यले षड्यन्त्र गरेको छ ।’
आलममाथि थप दुई अभियोग
बमकाण्डमा पक्राउ परेका साँसद आलम माथि थप दुई अभियोग लाग्ने भएको छ । २०६४ सालमा भएको बम विस्फोटका एक घाइते प्रहरीले फेला पारेपछि आलम माथि थप मुद्दा लाग्ने भएको हो । जिल्ला सरकारी वकिल खडिन्द्र राज कटुवालका अनुसार आलमलाई बमबारुद बनाउने तथा विस्फोटन सम्बन्धी कसुर र घटनाका जीवीत घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा समेतको अभियोग दायर हुने बताएका छन् ।
घटनाका चारजना फरार अभियुक्त पक्राउ गर्नुपर्ने र बम विस्फोटमा घाइते भएकाहरुलाई बोरामा कोचेर इटा भट्टामा ओसार्न प्रयोग गरेको ट्रयाक्टर समेतको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिलले आज जिल्ला अदालतमा थप म्याद मागेका थिए । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्याइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…