आज 'विश्वकर्मा पूजा' धुमधामका साथ मनाइँदै
विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

२०७६ असोज १ बुधबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यन्त्रका देवता भनेर मान्यता दिइएको हिन्दु धर्मावलम्बीहरुको अराध्यदेव विश्वकर्माको पूजा आज बुधबार धुमधामका साथ मनाइँदैछ ।
विभिन्न चोक चौराहा, फर्निचर, मेसिनरी पसल र कलकारखाना रंगीचंगी पार्नुका साथै विश्वकर्माको ठूलठूला प्रतीमा राखेर पूजाआजा गरिँदैछ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्दैछन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ ।
गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनबिश्वास छ ।
यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
यही सम्झनामा हिन्दु धर्मावलम्बीहरुले भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…