लोकसेवाको केन्द्रीय कार्यालय घेराउ, रोकिएन प्रहरी हस्तक्षेप
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएपनि वास्ता गरिएको छैन ।
२०७६ साउन २ बिहीबार, दिउँसो १:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लोकसेवा आयोगले समावेशिता विपरीत गरेको विज्ञापन खारेजीको माग गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरिएको छ ।
तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा जारी ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गत बिहीबार काठमाडौैंको अनामनगरस्थित रहेको लोकसेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरिएको हो ।
लोकसेवा आयोगले जारी गरेको विज्ञापन विभेदपूर्ण रहेको भन्दै मधेशी, जनजाती, आदिवासी, दलित, महिला, मुस्लिम, अपांग लगायतकाको प्रतिनिधित्व गरेका संघसस्थाहरु आन्दोलनमा उत्रेका हुन् । आरक्षण बचाऔं आन्दोलनलाई निरन्तरता दिँदै बिहीबार लोकसेवाको कार्यालयमा तालाबन्दी गर्न हजारौंको संख्यामा पुगेका आन्दोलनकारीहरु उपर प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु लोकसेवा आयोग कार्यालयको मुख्य गेटमै धर्ना दिएका थिए ।
लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गर्न नदिन पहिलेदेखि नै त्यहाँ उल्लेख्य मात्रामा प्रहरी परिचालित गरिएको थियो । आन्दोलनकारीहरुले ‘प्रहरी दमन बन्द गर, संविधाप्रदत्त समानुपातिक समावेशी सुनिश्चित गर, बहिष्कृत समुदायका लागि आरक्षण सुनिश्चित गर, मन्त्री लालबाबु पण्डित राजिनामा दे, उमेश मैनाली मुर्दाबाद’ को नारा लगाएपछि प्रहरी र प्रदर्शनकारी बीच पटक–पटक घम्शाघम्शी र सामान्य झडप पनि भएको छ । झडपको क्रममा केही प्रदर्शनकारीहरु घाईते पनि भएका छन् ।
आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एक दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरिएको हो । आन्दोलन समितिले यसअघि २ गते नेपाल बन्द गर्ने तय गरेपनि बाढी र पहिरोले मधेशलगायत देशैभरको जनजीवन आक्रान्त बनेपछि बन्द फिर्ता लिँदै २ गते लोकसेवा आयोगको कार्यालय घेराउ गर्ने तय गरेको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएपनि वास्ता गरिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आभाष गुरु, काठमाडौं
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…