नेता यादवको गर्जन : 'मधेश आन्दोलनका निर्दोषलाई फसाउन खोजिए संसद घेर्न बाध्य हुनेछौं'
सांसद यादवले अमेरिकनसहित विदेशी नागरिकलाई इमिग्रेशनबाट किन फर्काएको हो भनेर गृह मन्त्रालयसँग जवाफ समेत माग गरेका छन् ।

२०७६ असार १४ शनिबार, बेलुकी ५:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नं. ४ का सांसद राजकिशोर यादवले सरकारले मधेश आन्दोलनका निर्दोष जनतालाई फसाउन खाजे संसद घेर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद यादवले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर निर्दोष जनतालाई फसाउन खोजेको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न बारम्बार आवाज उठाएपनि नगरेको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘सभामुखको रुलिङ हुँदा पनि लाल आयोगको सार्वजनिक भएन । प्रतिवेदन सार्वजनिक नहुँदा आशंका बढेको छ, निर्दोष जनतालाई फसाउन लागिएको छ । बाध्य भएर यो हाउस घेर्ने छौँ । सडकमा पनि जान बाध्य हुने छौँ ।’
मधेश मामिलामा निरन्तर खडा भएर संसदमा प्रस्तुत भएका सांसद यादवले सांसद रेशम चौधरीलाई नेल र हत्कडी लगाएर उपचार गरिएकोप्रति समेत गम्भीर आपत्ति जनाए । उनले जनताको प्रतिनिधिलाई जंजिर लगाएर उपचार गराउनु राज्यको उपहास भएको र प्रधानमन्त्रीको निर्देशनपछि मात्र जंजिर खोलिनु हुकुमी शैली भएको बताए ।
उनले, ‘प्रधानमन्त्रीजीले रेशमलाल चौधरीलाई नेल र हत्कडी लगाएर उपचार गराउने प्रहरी, कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको सुन्न पाइयो, कुन कर्मचारी कारबाहीमा परे जानकारी पाउँ ।’ भनि माग समेत गरे ।
सांसद यादवले लोकसेवाको विज्ञापनका बारेमा कयौँ पटक कुरा उठेपनि सरकारले नसुने झैँ गरेर संविधानको धज्जि उडाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।
संविधानको बर्खिलाप गर्ने मन्त्री, संविधान विपरित विज्ञापन गर्ने लोकसेवा आयोगको बारम्बार आइरहेको अभिव्यक्तिले झन् झन् समस्या ल्याइदिएको भन्दै सचेत हुन आग्रह गरे ।
सांसद यादवले वर्तमान सरकारको निर्णयले जनतामा निरासा र कौतुहलता छाएको बताए । उनले भने, ‘यो राज्य सबैको हुनेछ भन्ने आशा थियो । दुभाग्र्य सरकारका क्रियाकलाप हेर्दा एकल जातीय र केन्द्रिकृत कार्य गर्दै आएको छ, जुन प्रकारको निर्णय आउँदैछ यसले राम्रो सन्देश दिएको छैन ।’ उनले समाजमा पलाएको न्यायको आशामा कालो बादल मडारिएको भन्दै खिन्नता पाखे ।
अर्को प्रसंगमा उनले अमेरिकनसहित विदेशी नागरिकलाई इमिग्रेशनबाट किन फर्काएको हो भनेर गृह मन्त्रालयसँग जवाफ माग गरेका छन् । उनले ‘अमेरिकी र विदेशी नागरिकलाई बिना कारण कसरी फर्कायो ? यो के हो ? त्यो इमिग्रेशन कसको कन्ट्रोलमा छ ? भन्दै प्रश्न गरे ।
नेता यादवले अगाडि भने, ‘कसको निर्देशनमा चलिरहेको छ । सदनलाई त्यो जानकारी हुनुपर्छ, यसरी हाम्रो विदेश नीतिमाथि हाम्रो सुरक्षा संयन्त्रमाथि बारम्बार अरु देशका राजदूत र अरु देशका प्रतिनिधिहरूले सवाल उठाइ रहेका छन् । नेपाल सरकारको लागि नेपाल राज्यका लागि किमार्थ राम्रो होइन, राम्रो संकेत होइन । यो अत्यन्तै सम्वेदनशील विषय हो ।’
गृह मन्त्रालयले नेपाल र नेपालीको हितमा काम गर्नुपर्ने नेता यादवले तर्क गरे । उनले कसैको खटन–पटनमा, कसैको निर्देशनमा खटाएको काम गर्दै गयो भने हाम्रो विश्वसनीयता गुम्ने खतरा रहेको भन्दै सचेत हुन आग्रह गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…