सिरहाका यी वडाध्यक्षले आफ्नै पक्की घरमा चलाए हथौडा, घर तोडेपछि चारैतर्फ चर्चा !
यदि मेरै घर हटाएर विकास निर्माणको कार्य अगाडी बढछ भने यसको लागि म सहजै तयार भएको छु ।
२०७६ जेठ २६ आइतबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । स्थानीय तहमा अहिले जनप्रतिनीधिहरु छोटे राजा बन्न खोज्नेको कमी छैनन र बनेका पनि छन् ।
तर सिरहाको एक वडाध्यक्षले जनभावना बमोजिमको विकास निर्माणको कार्य अघि बढाउनको लागि आफ्नै पक्की घर तोडेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ३ इटारी पर्साहीका वडाध्यक्ष अशोक कुमार मण्डलले आफनै पक्की घर तोडेपछि स्थानीयहरुले उनले बलिदान दिएको बताएका छन् ।
पर्साही बजारमै घर रहेको वडाध्यक्ष मण्डलको पक्की घर बजार क्षेत्रमा करिब डेढ फिट जती परेको थियो । स्थानीय अगुवा तथा नेताहरुले उनले घर नतोडेसम्म विकास निर्माणको कार्यहरु वडाभरिमै कत्तै पनि हुन नदिने बताएपछि उनले आफ्नै हातले घरमा हथौडा चलाएका छन् ।
राजपा नेपालबाट निर्वाचित वडाध्यक्ष मण्डलले विकास निर्माणको कार्यहरु गर्दा स्थानीय पार्टी प्रतिनीधिहरुले विरोध गरी विकास निर्माणका कार्यहरु रोकेको अवस्थामा कार्यलाई गति दिनको लागि अन्त्यमा आफ्नै घर तोडेपछि कार्य अगाडी बढने भएको हो ।
विभिन्न नगरपालिका, गाउँपालिकाका जनप्रतिनीधिहरु स्वार्थमै लागेर जनभावनाको कदरै नगरी आफ्नै विकासमा लागेको बेला यी वडाध्यक्षले जनभावनालाई कदर गरी विकास निर्माणका कार्यलाई हरियो झण्डी देखाएका हुन् । उनले आफूले नै आफ्नो घर तोडेपछि चारैतर्फ उनको चर्चा गरिएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै वडाध्यक्ष मण्डलले भने, - "समाज निर्माणमा लागेका छौं, यदि यो समाजको लागि पुरै घर नै दिनुपर्ने अवस्था आएपनि म पछि हट्ने छैन । यहाँका केही पार्टीका प्रतिनीधिहरु विकासमा अवरोध गरेरै विरोध जनाएको देखिएको छ । उनीहरुको लागि यो एक संकेत मात्र छ । म जनताबाट निर्वाचित जनप्रतिनीधि हुँ, उनीहरुको एक एक भोटको हिसाब चुक्ता गर्ने मेरो दायित्व पनि हो । यदि मेरै घर हटाएर विकास निर्माणको कार्य अगाडी बढछ भने यसको लागि म सहजै तयार भएको छु ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…