नेपालमै नमुना : ऐतिहासिक कमला नदीमा 'मोक्षधाम' बन्दै !
निर्माण हुन लागेको मोक्षधाम सम्भवत नेपालकै सबभन्दा उत्तम र सुविधासम्पन्न मोक्षधामको रुपमा परिचित हुनेछ ।

२०७६ बैशाख ७ शनिबार, बिहान १०:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको ऐतिहासिक, धार्मिक एवम् पवित्र कमला नदीमा 'मोक्षधाम' बन्ने भएको छ ।
सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. ६ स्थित हुलाकी राजमार्ग तथा कमला नदीको दक्षिणी पूर्वी तटबन्धमा मोक्षधाम निर्माणको लागि एका समारोहबीच शिलान्यास गरिएको हो । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले मोक्षधाम निर्माणको शिलान्यास गरेका छन् ।
शुक्रबार गरिएको मोक्षधामको शिलान्यास कार्यक्रममा सिरहा नगरपालिकाका मेयर, वडाध्यक्ष सहित स्थानीय सरोकारबालाहरुले मोक्षधाम निर्माणको लागि चौतर्फी सहयोगको प्रतिवद्धता जाहेर गरेका छन् । उक्त ठाउँमा मोक्षधाम निर्माण भएपछि अहिले कमला नदीमा जथाभावी गरिएको दाहसँस्कार नियन्त्रण भई मोक्षधाममै दाहसँस्कारको उत्तम व्यवस्था हुने जनाइएको छ ।

दुई बिघाको क्षेत्रफलमा निर्माण हुने मोक्षधाममा दाहसँस्कार सहित मन्दिर, स्वीमिँग पूल, योगास्थल, पार्किंग, लज, धर्मशाला, होटेल लगायतको व्यस्था हुनेछ । सो कार्यक्रममा बोल्दै योजनामन्त्री यादवले यस मोक्षधामलाई देशको नमुना स्थल बनाउन सकिन्छ र सांस्कृतिक रुपले पनि अलगै पहिचान बोकेकी कमला नदीलाई सिरहा र धनुषा समाजले प्रत्यक्ष फाइदा लिन जोड दिएको छ।

निर्माण हुन लागेको मोक्षधाम सम्भवत नेपालकै सबभन्दा उत्तम र सुविधासम्पन्न मोक्षधामको रुपमा परिचित हुनेछ । धार्मिक एवम् पर्यटकीय हिसाबले समेत धनुषा र सिरहावासीको लागि एक पहिचान एवम् गौरवको रुपमा मोक्षधाम निर्माण हुन लागेका हुन् । मोक्षधाम शिलान्यास कार्यक्रममा ईन्जिनीयर सँजीव यादव, नगरपालिकाका मेयर, अँजु यादव, विभिन्न वडाका वडाध्यक्षहरु, स्थानीय बुद्धिजीवी, जेष्ठ नागरिक, साँस्कृति विदहरुको समेत उपस्थिति रहेको थियो ।

कमला बचाउ अभियानका अभियानी एवम् अगुवा विक्रम यादवले समेत कमला नदीमा सामुदायिक जँगल बसाउने तथा त्यसैभित्र विभिन्न प्रकारका पर्यटकीय भागहरु निर्माण गरी कमला नदीको पानीलाई समेत उपयोग गर्ने बताएका थिए । कमला नदीमै मोक्षधाम बन्ने भएपछि कमला बचाउ अभियानलाई समेत प्रत्यक्ष रुपमा फाईदा हुने अभियानी यादवले जनाए ।

उनले कमला नदीमै कोशी टप्पु झैँ एक टप्पु निर्माण गरी विभिन्न प्रजातीका जनावर, चराचुरुँगीहरु राखेर पर्यटक लोभ्याउँदै धार्मिक एवम् पौराणिक ईतिहासलाई दोहरयाउने प्रतिवद्धता जनाएका थिए ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…