न्याय सम्पादनमा राजनीतिक हस्तक्षेप बढी : उपमेयर श्रेष्ठ
स-साना घटना जबरदस्ती मुद्दा बनाएर प्रहरी, अदालतमा पुरयाउने गरेको आरोप राईनले लगाए ।

२०७५ चैत १७ आइतबार, बेलुकी ७:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना श्रेष्ठा माथेमाले न्याय सम्पादनमा राजनीतिक हस्तक्षेप भएकै कारण न्यायिक समिति उपर अविश्वास बढेको बताएकी छन् ।
आईतबार क्षीरेश्वरनाथ नगरपालिकाको आयोजनामा नगरपालिकाकै सभाहलमा सम्पन्न भएको नगरस्तरीय न्याय सम्पादनका जिम्मेवारी, अनुभव, अवसर र चुनौति विषयक छलफल कार्यक्रममा उपमेयर माथेमाले न्यायिक समितिको अध्यक्षको हैसियतले आफ्नो टेबुलमा आउने गरेको अधिनका मुद्दाहरुलाई प्राथमिकताका साथ मिलाउने प्रयत्न गरेपनि राजनीतिक हस्तक्षेपकै कारण पनि आम जनतामा अविश्वास उत्पन्न गराएको उल्लेख गरिन् ।
न्यायिक समिति उपर जनमानसमा रहेको अविश्वासलाई हटाउनको लागि नगरको विभिन्न टोल टोलमा गएर नागरिकबीच सचेतना एवम् जागरुकता जगाउनुपर्ने आवश्कयता औल्याउँदै उनले न्यायिक समितिको कार्यक्षेत्रभित्र पर्ने कानुनको अधिनमा रही मुद्दाहरुलाई सकभर स्थानीय स्तरमै मिलाउने प्रयत्न गर्दै आएको बताइन । उनले न्यायिक समितिमा मुद्दा आएपनि त्यसलाई राजनीतिक खिचातानीले अड्डा अदालत, प्रहरीसम्म लग्ने गरेको दुःखेसो पोखिन् ।
नगरपालिकाकी न्यायिक समितिको अध्यक्षको अध्यक्ष समेत रहेकी उपमेयर माथेमाले समान्य प्रकृतिका मुद्दाहरु जस्तै झैझगडा, कुटपिट, महिला हिँसा, पुरुष हिँसा लगायतका मुद्दाहरुलाई स्थानीय स्तरमै मिलाउनुपर्ने जागरुकता आम जनतामा बाँडनुपर्ने आवश्कयता औल्याइन । उनले नागरिक जागरुक नभएसम्म यस्तै पार्टीगत मनसाय र राजनीतिक दलको दृष्टिकोणले हेर्दै गयो भने समितिको औचित्य नै नरहने दाबी गरिन ।
सो कार्यक्रममा बोल्दै क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबू यादवले वडा नं. १ मा दलित वस्तीमा समान्य प्रकारका घटनाहरु बढी हुने गरेको बताउँदै यसलाई न्यायिक समितिसम्मको पहुँच बनाउन पहल गर्नुपर्ने धारणा राखे । उनले राजनीतिक पार्टीको दृष्टिकोण र नजरियाका कारण उनीहरु पनि न्यायिक समिति उपर पूर्ण विश्वास गर्न नसकेको बताए ।
गाउँघरमा स्थानीय भनौदा नेताहरुले समान्य झगडालाई पनि प्रहरी सम्म पुगाएर विचौलियाको काम गर्ने गरी दुई परिवार र छिमेकलाई फसाँउन कुनै कसर नछाडने गरेको आरोप लगाउँदै न्यायिक समितिका सदस्यहरुलाई समेत पार्टीगत नजरियाले देखेपछि चुनौति बढेको बताए ।
सो कार्यक्रमा वडा नं. ३ बाट वडासदस्य खुर्सेद राईनले राजनीतिक व्यक्तिहरुको खिचातानीका कारण एक गरिब र समान्य परिवारका व्यक्तिले न्यायिक समिति भन्दा पनि प्रहरी प्रशासनसम्म पुग्न बाध्य बनाएको बताए । स-साना घटना जबरदस्ती मुद्दा बनाएर प्रहरी, अदालतमा पुरयाउने गरेको आरोप राईनले लगाए ।
समाजिक सँस्था सपोर्ट नेपाल धनुषाको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, महिला वडासदस्यहरु, दलित वडासदस्यहरुले पनि राजनीतिक कारणले नै न्यायिक समिति उपर अविश्वास बढेको औल्याएका थिए । यसलाई निराकरण गर्नको लागि न्यायिक समितिमा आउने गरेको मुद्दालाई प्राथमिकतामा राखी पूर्णतः निष्पक्ष न्याय प्रदान गरेमा मात्र विश्वासको आँकडा बढने धारणा राखिएको थियो ।
कार्यक्रममा सपोर्ट नेपालका जिल्ला उपाध्यक्ष सुनिल मल्लिक, विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, सँचारकर्मी, विभिन्न संघ सँस्थाका पदाधिकारीहरु, महिला लगायत करिब ४५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सपोर्ट नेपालका मनोज दनुवार, उज्यालो नेपालका सत्रुधन महतोले सहजीकरण गरेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…