जनकपुरमा विहानै 'शिक्षा मन्त्री मुर्दावाद' को नारा, परीक्षार्थीहरु प्रदर्शनमा !
परीक्षार्थीहरुले एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोसित बनेका छन् ।

२०७५ चैत १६ शनिबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एसईई परीक्षा स्थगितको निर्णय आएपछि परीक्षार्थीहरु पुनः प्रदर्शनमा उत्रेका छन् ।
विहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेल विरुद्ध चर्को नारावाजी गर्दै आफूहरुलाई न्याय दिनुपर्ने नारा गुञ्जायमान गरेका छन् । उनीहरुले बीच सडकै बसेर हामीलाई न्याय चाहियो, शिक्षा मन्त्री मुर्दावाद को नारा घन्काएका छन् ।
प्रदेश नंं २ मा निरन्तर रुपमा एकपछि अर्को प्रश्नपत्र सुनुयोजित तरिकाले बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश नं. २ का शिक्षा निर्देशनालयले एक्सन लिएका हुन । परीक्षा अगावै कत्तैबाट सम्बन्धित विषयको प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारका शिक्षा तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्त २१ गतेसम्मको लागि प्रदेश नं. २ को ८ वटै जिल्लाको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी गराए ।
विभिन्न सँचारमाध्यमहरुमा परीक्षा स्थगितको समाचार बाहिरिएपनि ग्रामिण भेकमा सँचारको पहुँच न्यून भएकोले थाहै नपाएर परीक्षा केन्द्र पुगेका परीक्षार्थीहरुले परीक्षा स्थगित भएको खवर पाएपछि आक्रोसित बनेका छन् । विज्ञान विषयको परीक्षा रद्द भएपछि आगामी २२ गते चैत्तको सँचालन गर्ने निर्णयको विरोधमा पनि शुक्रबार प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ढुँगामुढा गर्दै केही बेर जनकपुर तनावग्रस्त बनाएको थियो ।
प्रश्नपत्र कहाँबाट आउट भएको बारे अझै पुष्टि भएको छैन भने प्रदेश सरकार, केन्द्र सरकार त्यसको छानबिन कडा रुपमा थालेका हुन् । परीक्षार्थीहरुले एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोसित बनेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…