मधेशका जनतालाई न्याय दिलाउन चट्टानसँग पनि लड्न मधेश सरकार तयार छ : कानुनमन्त्री यादव
प्रदेश सरकार पीडितहरुको बस्तीमै पुगी समस्या बुझेर जसरी पनि न्याय गर्ने प्रतिवद्धता गरेपछि न्यायको आशा पलाएको छ ।

२०७५ फागुन १८ शनिबार, बेलुकी ७:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले मधेशका जनतालाई न्याय दिलाउन चट्टानसँग पनि लड्न तयार रहेको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नपा–७ फूलवरिया दलित बस्तीमा आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अन्र्तगत ‘जनताको कचहरी कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री यादवले जनताको न्यायका लागि जस्तो सूकै शक्तिसँग टक्कर लिन तयार रहेको बताएका हुन् ।
वडाध्यक्षको गलत सिफारिसका कारण बेचिएको मिर्चैया–७ स्थित दलित बस्तीमै जनताको गुनासो सुन्न ‘जनताको कचहरी कार्यक्रम’ लिएर पुगेका मन्त्री यादवले पहिले झैं कसैको अन्याय र अत्याचार सहेर बस्ने अवस्था अब नरहेको प्रष्ट पारे । उनले मधेश सरकारले पीडित जनताको घरमै पुगेर भएपनि समस्या सम्बोधन गरेर न्याय गर्ने जनाए ।
मन्त्री यादवले संघीय सरकारको डाहा प्रवृत्तिका कारण कानुन निर्माणमा समस्या भएको सुनाउँदै लोक सेवा विधेयक पास गर्न ढिलाई भएको आरोप लगाए ।
सहभागिहरुको गुनासा र समस्या सुनेपछि अधिकांश जग्गा सम्बन्धी समस्या देखेर आक्रोशित हुँदै उनले भूमाफियाहरुलाई तह लगाउन भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै नै ल्याउन लागेको जानकारी गराए ।
मधेशमा विकराल देखिएका दहेज प्रथा, लागु पदार्थ, महिला हिँसा, जग्गा सम्बन्धी समस्यालगायतका विभिन्न समस्याहरुलाई परास्त गर्नका लागि समेत विधेयक ल्याउन लागेको बताए । उनले समाज निर्माण र विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको प्रष्टाए ।
मन्त्री यादवले संघीय सरकारको डाहा प्रवृत्तिका कारण कानुन निर्माणमा समस्या भएको सुनाउँदै लोक सेवा विधेयक पास गर्न ढिलाई भएको आरोप लगाए । उनले प्रदेश सरकारको संघर्ष जारी रहेको र मधेशको विकराल बेरोजगारीको समस्या चाँडै नै समाधान हुने बताए ।
त्यसैगरी, प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले गरेको विभिन्न कामहरु साझा गर्दै जनताको हितमा संवेनशील भएर कानुन निर्माणका कार्यहरु तीव्रता साथ भइरहेको जानकारी दिए ।
उनले जग्गा सम्बन्धी प्रसँगमा कुनैपनि जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा निजको नाममा जग्गा नामसारी हुने कानुनी व्यवस्था नै रहेको खुलाउँदै कोहीसँग अन्याय हुन नदिने प्रतिवद्धता गरे ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जग्गा सम्बन्धि जिप्रकामा परेको निवेदन उपर अनुसन्धान भइरहेको र भूमाफियाहरुलाई कुनै हालातमा उम्कने नदिने जनाए ।
सोही प्रसँगमा उनले किर्ते गरी हड्पिएको सिरहाको मिर्चैया नपा–९ रमपुरा दलित बस्तको जग्गा उपर पनि अनुसन्धान जारी राखेको जनाउँदै दोषीलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता गरे ।
कार्यक्रममा उपस्थित सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठ, मालपोतका सहायक प्रमुख सुधीर यादवलगायतकाले पीडितहरुसँग न्याय गर्न आ–आफ्नो स्तरबाट हरेक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
प्रदेश सरकार पीडितहरुको बस्तीमै पुगी समस्या बुझेर जसरी पनि न्याय गर्ने प्रतिवद्धता गरेपछि न्यायको आशा पलाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…