मधेशको लाईफलाईन हुलाकी राजमार्ग निर्माण कार्य तीव्र
एक महिनाभित्रै त्यस खण्डमा कालोपत्रेको कार्य समेत भईसक्ने

२०७५ पुस २ सोमबार, बिहान ११:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्ग कार्यलाई तीव्रता दिइएको छ ।
जनकपुरधामदेखि कमलानदिसम्म जोडने धनुषाको हुलाकी राजमार्ग खण्डको कार्यलाई तीव्रता दिदै केही दिनमै पुरापुरी कालोपत्रे (पिच) गरिने बताइएको छ । अहिले केही दिनदेखि हुलाकी मार्ग निर्माणलाई तीव्रता दिँदै तीन तहको कार्यलाई सम्पन्न गरेको छ ।
हुलाकी राजमार्ग निर्माणको लागि दोस्रो चरणसम्मको कार्य सम्पन्न गरिसकेको छ भने तेस्रो चरणको कार्य तीव्र रुपमा भइरहेको छ । पहिलो चरण अन्तर्गत हुलाकी राजमार्गमा माटो पुरेर सडक बराबर गर्ने, ग्राभेल गर्ने तथा अर्को चरणमा गिट्टी बालुवा हाल्ने र पानी छर्कर्दै रोलर चलाउने कार्य तीव्र रुपमा भईरहेको छ ।
अहिले कमलादेखि धनुषाको भाईलसम्ममा हुलाकी मार्गमा पर्ने पूल निर्माण देखि लिएर माटो पुर्ने कार्य, रोलर चलाउने, पानी छर्कने कार्य भईरहेको छ भने औरहीदेखि कमला नगरपालिकाको माचि झिटकैयासम्म नियमित यस्ता कार्यलाई तीव्रता दिएको छ । एक महिनाभित्रै त्यस खण्डमा कालोपत्रेको कार्य समेत भईसक्ने जनाइएको छ ।
धनुषाको पूर्वी भेकका सर्वसाधारणहरुको लागि मुख्य राजमार्गको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण गति तिव्र भएपछि खुसी जाहेर गरेका छन् । मुख्य बजार जनकपुरधामसम्म जोडनको लागि कमला भेकका सर्वसाधारणहरुलाई हुलाकी राजमार्गमा कालोपत्रे भएपछि सहजता प्रदान हुने देखिएको छ ।
एम्बुलेन्स, बस, ट्रक समेत जान कुनै बेला कठिनाई भईरहदा अहिले हुलाकी सडकको अवस्था सुधार गरिदै छ ।
यस्तै, बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । सोमबार पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिए ।
नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउनसम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीले बताए ।
“निर्माणाधीन सडकखण्डको ठाउँठाउँमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान नभएकाले ती स्थानलाई छाड्दै सडक कालोपत्रे गरिनेछ”, इञ्जिनीयर भण्डारीले भने ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् ।
सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।
स्थानीय बर्माले आफ्नो घर अगाडिको नाली आफैँ निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…