सहकारीको रकम सञ्चालक समितिकै सुविधामा स्वाहा !
सुपरिवेक्षण गर्न तीनजनाको उच्चस्तरीय समिति बनाउन समेत माग गरेका छन् ।

२०७५ मंसिर २२ शनिबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । साना किसान कृषि सहकारी संस्था लिमिटेड विष्णुपुरको साधारणसभामै हँगमा भएको छ । सहकारीले शुक्रबार सिरको विष्णुपुरमा आयोजना गरेको २२ औं साधारणसभामै सेयर धनीहरु सञ्चालक समितिप्रति खनिएका हुन् ।
सञ्चालक समितिले आफू खुशी भ्रमण तथा अन्य गतिविधिहरुमा सहकारीको रकम स्वाहा गरेको भन्दै उनीहरु आक्रोशित भएका छन् । सञ्चालक समितिले प्रशासनिक नियमावलि विपरित दोहोरो सेवासुविधा लिएर सहकारीको भविष्य नै चौपट गर्न लागेको उनीहरुको आरोप छ ।
२०७४–०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत भइरहेका बेला उनीहरु सञ्चालक समितिले सहकारीको नियमावलि मिच्दै दोहोरो सुविधा लिइरहेको भन्दै खनिएका थिए ।
सेयर धनी बिनोद यादवले अबेरसम्म कार्यक्रम गरेर अधिकतम सदस्यहरु गइसकेपछि सञ्चालक समितिले केही सदस्यहरुलाई पैसाको प्रलोभन देखाई साधारणसभा पास गर्दै आएको, सञ्चालक समितिको समय सकिनै लाग्दा उप निर्वाचन गर्न आलटाल गरेको, भ्रमणमा जम्बो टोलि गई अनावश्यक ढुकुटीको दुरुपयोग गरेको र भ्रमणबाट केही उपलब्धि नदेखिएको आरोप लगाए ।
आर्थिक वर्ष २०७४–७५ मा मात्र ४ लाख २२ हजार ८ सय ५५ रुपैयाँ सञ्चालक समितिको सेवासुविधामै खर्च भएको देख्दा उनीहरु साधारणसभा बहिस्कार गरेका थिए ।
त्यस्तै, सेयर धनी रामनारायण ठाकुरले आन्तरिक लेखा परिक्षण चौमासिक हुनुपर्ने, सदस्य सुरक्षा कोषबाट आर्जित ब्याज रकमबाट वर्षमा दुई चोटि जेष्ठ नागरिकलाई सम्मान स्वरुप प्रदान गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले कार्यालय सुपरिवेक्षण गर्न तीनजनाको उच्चस्तरीय समिति बनाउन समेत माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…