केन्द्र सरकारले मधेशीलाई विभाजन गर्दैछ : राज्यमन्त्री शर्मा
नेपालमा संघीयताको जन्म आमाबुवाले नचाहेर दुर्घटनावंश भएको सन्तानझै भएको छ |

२०७५ मंसिर २० बिहीबार, बेलुकी ६:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले केन्द्र सरकारले मधेशीमा फुट डालिरहेको बताएका छन् ।
केन्द्र सरकारले मधेशी दलित, अल्पसँख्यक, सीमान्तकृत, मुस्लिमको नाममा एक मधेशीलाई विभिन्न टुक्रामा बाँड्ने षडयन्त्र गरेको बताएका छन् । मधेशमा बसोबास गर्ने एक ढिक्का मधेशी भएपनि यीनीहरुबीच कोटा र जातीय राजनीतिकको माध्यमले फुटाउन प्रयास गरेको बताए ।
जनकपुरधाममा समाजिक सँस्था सपोर्ट नेपाल धनुषाको सुन्दर शान्त नेपाल परियोजना कार्यक्रममा बोल्दै राज्यमन्त्री शर्माले मधेशीहरुलाई एनजिओहरुले समेत विभाजन गरिरहेको आरोप लगाए ।
उनले भने, "समाजिक आन्दोलनको लागि प्रदेश सरकार जति बेला पनि तयार छ । गैर सरकारी सँस्थाहरुले पनि कोटा र आरक्षणको नाममा मधेशी मधेशीबीच नलडाएको पनि होइनन् । मधेशीमा फुट बढाउने, जातीयता पहिचान देखाएर लडाउने कार्य पनि एनजिओहरुले गरेको प्रष्ट छ । एनजिओको मार्फत पनि केन्द्र सरकारले विभिन्न कार्यक्रम दिएर फुटाउने षडयन्त्र गरिदैछ ।"
मधेशमा बसोबास गर्ने मधेशी मूलका नेपालीहरुले आफूलाई मधेशी भनाउनुभन्दा पनि परिचय दिँदा कोही अल्पसँख्यक, कोही दलित, कोही सीमान्तकृत, उत्पीडित, मुस्लिम समुदाय भनेर सम्बोधन गरेकोप्रति आपत्ति जनाउँदै मधेशीमा नै फुट गराउन संघसँस्थाहरु पनि लागिपरेको आरोप लगाए ।
नेपालमा संघीयता अचानक र बिना योजनाको आएको भन्दै राज्यमन्त्री शर्माले मुठभेड गरेर भएपनि केन्द्र सरकारसँग अधिकारको लागि लडने बताए । उनले भने, "संघीयता आएपछि हामीले समानुपातिक, समावेशीको माग गरेका छौँ, सत्तामा समेत समानुपातिक अधिकार खोजेका छौ । अहिले पनि नेपालको संविधान २०७२ को केही धारामा विमति छदैछ । नेपालमा संघीयताको जन्म आमाबुवाले नचाहेर दुर्घटनावंश भएको सन्तानझै भएको छ ।"
गाउँ- गाउँमा सिंहदरबारको तथ्य उपर बोल्दै मन्त्री शर्माले काठमान्डौँको दक्षिणी ढोकादेखि हनुमानस्थान सम्म समेत सिँहदरबारको अधिकार नआएको व्यँग गरे ।
प्रदेश सरकार गठन भएपछि हामीले आफ्नै प्रहरी, आफ्नै प्रशासन र आफ्नै न्यायलय राख्न चाहेपनि संघीय सरकारले त्यही संघीयतालाई धरापमा पार्न खोजेको आरोप लगाए ।
सपोर्ट नेपालका धनुषाका उपाध्यक्ष सुनिल मल्लिको अध्यक्षता एवम् मन्त्री शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न संघ सँस्थाका प्रतिनीधि, विभिन्न समुदायका सर्वसाधारण , अधिकारकर्मीहरुको समेत सहभागीता रहेको कार्यक्रम सँचालक एवम् सुन्दर शान्त नेपाल परियोजनाका सँयोजक मनोज दनुबारले जानकारी दिए ।
कार्यक्रममा अविनाश कर्णले परियोजनाको बारेमा प्रकाश पारेका थिए भने सपोर्ट नेपाल धनुषाका कार्यक्रम सँयोजक प्रकाश ठाकुरले सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…