जनकपुरधाममा मात्रै ५० लाखको फूलमाला बिक्री
पुष्पमा जनकपुरलाई आत्मनिर्भर बनाउन सकिने ।

२०७५ कार्तिक २४ शनिबार, बिहान ९:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा यस वर्षको तिहारमा ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा यस वर्ष तिहारमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको हो ।
रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार जनकपुरधाममा गत वर्ष रु ४५ लाख बराबरको फूल आयात गरिएको थियो । यस वर्ष भने फूलको माग बढेको छ ।
पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र रु २५ लाख बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताउनुभयो ।
फूल व्यवसायी मालीले भन्नुभयो, “हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ, तर फूलको माग बढेपछि गेना (सयपत्री), रजनीगन्धा (गोदावरी), मखमली (सुपारी फूल) र गुलाब फूल बाहिरबाट मगाएका हौँ ।”
यहाँ भारतको कलकत्ता, पटना, सिलीगुडीबाट फूल आयात गरिने व्यापारी बताउँछन् । व्यापारीका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपरेको मालीको भनाई छ ।
यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधामलगायतका धार्मिक मठमन्दिरमा अन्य दिनमा पनि दैनिक रु २० देखि २५ हजार बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “म जानकी मन्दिर तथा राम मन्दिरको फूल स्टलबाट दैनिक रु तीनदेखि चार हजारको फूल बेच्ने गर्छु ।”
यसरी बिक्रीको अनुपात हेर्दा दैनिक रु २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान लगाउन सकिन्छ । फूलमालाको माग राम्रो भएको हुँदा यहाँ स्थानीयस्तरमै पुष्पखेती व्यावसायिक रूपले गर्न सके पुष्पमा जनकपुरलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…