विदेह नगरपालिकामा कानुनलाई धज्जिया उडाउँदै व्यवस्थापन समिति गठन !
स्रोत व्यक्ति कर्णले आफू उपस्थित नभएको भएपनि हस्ताक्षर भने गरेको स्वीकारे ।

२०७५ असोज २३ मंगलबार, बेलुकी ५:४७ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा एक प्रस्तावित माध्यमिक विद्यालयमा कानुन र व्यवस्थापन समिति विधान विपरित विद्यालय व्यवस्थाप समिति गठन गरिएको खुलासा भएको छ ।
विदेह नगरपालिका वडा नं. १ ठाढीमा रहेको प्रस्तावित मावि ठाढीमा विद्यालयका प्रधानाध्यापक उमेश पाण्डेले नियम विपरित व्यवस्थापन समिति गठन गरेको भन्दै वडा कार्य समितिले विघटनको लागि पत्राचार गरेको छ ।
स्थानीय तह लागू भएपछि वडा कार्यालयको मातहतमा गएको ती विद्यालयको व्यवस्थापन समिति गठन लुकीलुकी विना सूचनाकै गठन गरेको आरोप वडा कार्यालयले लगाएको छ । नगरपालिकाको कार्यालय एवम् जिल्ला शिक्षा समन्वय समिति धनुषालाई पत्राचार गर्दै वडा कार्य समितिले नियम विपरित तथा विना पूर्व सूचनाकै गठन गरिएको व्यवस्थापन समिति विघटन गर्न माग गरिएको हो ।
पत्रमा भनिएको छ , "विदेह नगरपालिका वडा नं. १ ठाढीको वडा समितिको निर्णय अनुसार यस वडा कार्यालय मातहतमा रहेको समुदायिक विद्यालयमा वडा कार्यालयलाई जानकारी नगराई नियम विपरित विना अनुमति प्रधानाध्यापक उमेश पाण्डले आफ्नो मनोमानी तकिारले केही मान्छेहरुलाई मात्र बोलाई विद्यालय व्यवस्थापन समिति गठन गरेको हुनाले सो समितिलाई विघटन गरी यस वडा कार्यालयसँग समन्व्य गरी पूर्व सूचना काटी सम्पूर्ण वडावासी अभिभावकहरुलाई भेला बोलाई पारदर्शी तकिारले विद्यालय व्यवस्थापन समिति गठन गर्नुहुन अनुरोध छ ।"
यता, गठन गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत नियम र कानुन विपरित चयन गरिएको बुझिएको छ । व्यवस्थापन समितिको अध्यक्षको लागि विद्यार्थीको अभिभावक हुनुपर्ने प्रावधान रहेपनि चयन गरिएका अध्यक्ष भने अभिभावक नभएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
उनले भने, चयन गरिएका अध्यक्ष शिव कुमार गोईतको छोराछोरी एक जना पनि त्यो विद्यालयमा पढदैनन् । अनि कसरी व्यवस्थापन समितिको अध्यक्ष हुन पाउने र ? कमसेकम नियम त पालना हुनुपर्ने नी ।
यसका साथै, विद्यालयका प्रधानाध्यापक उमेश पाण्डेले विद्यालय व्यवस्थापन समिति पूर्णतः कानुनी र विधान पुरयाएर मात्र गठन गरिएको दाबी गरेका छन् । समिति गठन पूर्व वडा कार्यालयलाई समेत पूर्व सूचना गरेको भन्दै सबैको उपस्थितिमै समिति गठन गरेको दाबी गरे । उनले कुनै प्रकारको त्रुटि नभएको समेत दाबी गरे ।
यता, शिक्षा समिति तर्फबाट विद्यालयका श्रोत व्यक्ति सुखचन्द्र लाल कर्णले व्यवस्थापन समिति गठनको लागि श्रोत व्यक्तिको उपस्थित अनिवार्य हुनुपर्ने बताएपनि आफू उपस्थित नभएको बताए । आफ्नो गैर उपस्थितमा विद्यालय व्यवस्थापन समिति गठन गरेको स्रोत व्यक्ति (आरपी- RP) कर्णको कथन छ ।
उनले भने, :म्यानुटहरु सबै पहिलेदेखि तयार गरेर राखिएको थियो । मलाई मिलाएर हस्ताक्षर गर्न भनियो मैले गरिदिए तर उपस्थित थिएन म, मिलाएरै बुझनुस न , तर यदि अभिभावक नभएको र मापदण्ड विपरित भएको छ भने त्यस उपर कसैले उजुरी गरयो भने कारवाही हुन्छ ।"
उनले शिक्षा सँयोजक शशि कुमार यादवसँग अभिभावकहरुको नामाबली र विवरण हुनुपर्ने बताए । सँयोजक यादवसँग सम्पर्क गर्दा फोन उठाएनन् ।
यसैबीच, नगरपालिकाका प्रशासन शाखाका केवल कुमार दासले व्यवस्थापन समिति गठनको लागि विद्यालयबाट पत्र आएको बताए । वडा कार्यालय वडा नं. १ बाट समिति विघटनको लागि पत्रको बारे जिज्ञासामा उनले आफूलाई कुनै जानकारी नभएको बताए ।
यता, नगरपालिकाका मेयर बेचन दास र वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानको मिलोमत्तो र योजनाले लुकीछिपी कानुन विपरित व्यवस्थापन समिति गठन गरेको बुझिएको छ ।
व्यवस्थापन समिति गठनको लागि आफू र मेयर दास सँगै गएको गोहितमानले स्वयँ स्वीकार गरे । यता, यस सन्दर्भमा मेयर दाससँग कुरा गर्दा उनले व्यवस्थापन समिति गठन पूर्णत कानुनी प्रक्रिया मिलाएर गरेको बताए ।
शिक्षा समितिमा शिक्षा सँयोजक नै नगर प्रमुख रहने गरी नियम अनुसार व्यस्थापन समितिको गठन पूर्ण प्रक्रियागत मिलाएर सबै अभिभावकको उपस्थितिमा गरिएको दाबी गरे । उनले आरपी (स्रोत व्यक्ति) को उपस्थित समेत रहेको दाबी गरे । तर स्रोत व्यक्ति भने आफू उपस्थित नरहेको यसअघि नै बताईसकेका छन् । ।

यता, व्यवस्थापन समितिको चयन गरिएका अध्यक्ष शिव कुमार गोईतले सबै प्रक्रिया पुरयाएर तथा पूर्णत कानुन बमोजिम आफूलाई चयन गरिएको दाबी गरे । अभिभावकत्व नभएको विद्यालयको सन्दर्भमा उनले आफू अभिभावक समेत भएको र त्यसको लागि अभिभावक सूचिको प्रमाण समेत आफूसँग रहेको दाबी गरे ।
वडा कार्य समितिको सूचनाकोब बारेमा चर्चा गर्दै उनले वडा कार्यालयलाई विद्यालयबाट दर्ता चलानी समेतको पत्र काटिएको र अहिलेसम्म वडा कार्यालयको सूचनापाटीमा अधिकारीक पत्र टाँसीएको दाबी गरे ।
वडाध्यक्ष रामवृक्ष ठाकुरले त्यो दिन उपस्थित हुन नसक्दा व्यवस्थापन समितिमा पार्टीगत हिसाबले व्यक्ति चयन गर्नुपर्ने भन्दै विरोध मात्र गरेको आरोप लगाए । उनले पूर्ण प्रमाणका साथ कानुनी रुपले नै आफूलाई अध्यक्षमा चयन गरिएको भन्दै सबै आरोप निराधार रहेको खण्डन गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…