प्रदेश नं. २ मा लगानीमैत्री वातावरण बनाउँछौँ : मुख्यमन्त्री राउत
तपाईहरु लगानी गर्नुस, सुरक्षाको ग्यारेन्टी हाम्रो सरकारको : राउत

२०७५ असोज १४ आइतबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार धनुषा चेम्बर अफ कमर्सको प्रथम कार्य समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफूहरु तयार रहेको बताए ।
प्रदेशलाई समृद्ध बनाउन सबै पक्षको उत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले उद्योगी व्यवसायीलाई प्रदेश नं २ को उद्योग धन्दामा लगानी गर्न आग्रह समेत गरे ।
“तपाईहरुको सहयोगबिना प्रदेशलाई समृद्ध बनाउनु सकिँदैन, यस प्रदेशमा लगानीको वातावरण हामी बनाउँछौँ, लगानीको सुरक्षा हामी दिन्छौँ ।” उनले थपे ।
असोज १९ गते सिमरामा लगानीकर्ताको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउँदै उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिबद्धता पनि जनाए ।
विकास र समृद्धिका लागि सबै पक्षमा सकारात्मक सोच आवश्यक रहेको जिकिर गर्दै उहाँले समाजमा सकारात्मक सोचको विकासका लागि सञ्चारकर्मीलाई विशेष भूमिका खेल्न आग्रह गर्दै उनले भने , “हामी अहिले पनि हत्या, अपराधकै समाचारमा रमाइरहेका छौँ, सञ्चारकर्मीले सकारात्मक विषयमा सबैको ध्यान आकर्षित गर्नु पर्दछ ।
धनुषा चेम्बर्स अफ कमर्शका अध्यक्ष विजयकुमार साहको अध्यक्षतामा भएको समारोहमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितको उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…