असोज २१, काठमाडौं । करिब डेढ महिना अघि, भदौ १० गते नेपालले ठुलो दैवि विपत्तिको सामना गर्नुप¥यो । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदि हुँदै आएको भिषण हिम आँधी र त्यसले रसुवा हुँदै, नुवाकोट, धादिङ लगायत तल्लो तटिय क्षेत्रसम्म निम्त्याएको वितण्डा अकल्पनिय र हृदयविदारक रह्यो । नेपाल सरकार मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म यस विपद्मा परि १,४५७ जनाको मृत्यु पुष्टी भएको छ भने ५ हजार भन्दा धेरै अझै बेपत्ता छन्, जसमा ५८७ जना विदेशी पर्यटक रहेका छन् । बेपत्ताहरुको खोजी जारी छ तर भेटिने सम्भावना क्षिण बन्दैछ ।
बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनामार्फत सहज जीवनयापन सुनिश्चित गर्न सरकार साथसाथै चौतर्फी रुपमा सहयोग जुटाउने र काम गर्ने प्रयासहरु भइरहेका छन् । आकस्मिक रुपमा विनाशकारी बाढी आएको करिब एक महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था वल्र्ड भिजन इन्टरनेशनल नेपालले रसुवा र नुवाकोटका विभिन्न स्थानमा गरि ८,६०० भन्दा बढी मानिससम्म सहायता पु¥यायो ।
तर, बालबालिकाको सुरक्षा, मर्यादा र शैक्षिक निरन्तरताका कतिपय पाटोहरु अझै पनि चुनौतीपूर्ण बनिरहेका छन् । बाढी पिडितहरुलाई राहतबाट अब पुनःस्थापनातर्फ सोच्ने र योजना बनाउने चरणमा बालबालिकाको सुरक्षा, खुशी र शिक्षा झन् धेरै महत्वपूर्ण प्राथमिकताका विषय बनेका छन् ।
कुनै पनि विपद्मा बालबालिका सबैभन्दा बढी जोखिममा हुन्छन् । विनाशकारी बाढीले विशेषगरी रसुवा र नुवाकोट जिल्लामा सबैभन्दा ठूलो क्षति पु¥यायो । जहाँ मानिस बगे, मानिसका घर बगे, बहुमुल्य सम्पत्ति बग्यो । ठुल्ठुला पूर्वाधार र आयोजना अनि व्यावसायीक प्रतिष्ठानहरु निमेषभरमै ध्वस्त भए । खेतियोग्य जमिन बगरमा परिणत भए, ठुलो संख्यामा पशु चौपाया बगे । यो विपत्तिमा विद्यालय बगे, कक्षामा पढ्दापढ्दैका बालबालिका हराए । उनिहरुको बालापन, खुशी, सपना, भविष्य, सबैसबै सधैँका लागि अस्ताए ।
बाढी आएको एक महिना बित्यो तर बालबालिकाका लागि पुनःस्थापनाको यात्रा कठिन र सुस्त बनिरहेको छ । यस विपद्बाट करिब २२,००० बालबालिका प्रभावित भएको अनुमान छ । भाग्यले बाँचेका उनीहरूका घर र विद्यालय ध्वस्त भएका छन्, दैनिक दिनचर्या बदलिएको छ, धेरैले परिवारका सदस्य, साथी तथा सहपाठी गुमाएका छन् ।

शिक्षा विभागको नेपाल शिक्षा क्लस्टरको प्रतिवेदन अनुसार रसुवा, नुवाकोट र धादिङमा गरि ३८ वटा विद्यालयमा क्षति र २६८ कक्षाकोठा प्रभावित भएका छन् । प्रारम्भिक अद्यावधिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ६३ वटा शैक्षिक संस्था प्रभावित हुँदा १४ हजार ५०० भन्दा बढी बालबालिकाको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवरोध पुगेको छ । सबैभन्दा बढी प्रभावित जिल्लाका ३२ विद्यालयमा अध्ययनरत ९,८०० बालबालिकाको पठनपाठन प्रत्येक्ष प्रभावित भएको छ, जसमध्ये १८ विद्यालयहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
शिक्षा क्लस्टरका अनुसार रसुवामा २६७ जना विद्यार्थी, शिक्षक तथा विद्यालयका अन्य कर्मचारी अझै बेपत्ता छन् । बाढीको कारण विस्थापन, परिवारबाट छुट्टिनुपर्ने अवस्था तथा अत्यावश्यक आधारभुत सेवामा उत्पन्न भएको अवरोधले बालबालिकाको संरक्षणमा समेत जोखिम बढाएको छ ।
“एक महिना बितिसक्दा पनि नेपालका धेरै बालबालिकाका लागि विपद् र त्यसपछि उत्पन्न संकट टरेको छैन; वल्र्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन गेब्रियल भन्छिन् । “बालबालिकाहरू आफूले गुमाएका कुराहरु सम्झिने र स्वीकार्ने प्रयास गरिरहेका छन् । केही बालबालिकाले आफ्नो घर, विद्यालय र कत्तिले आफ्ना प्रियजनसमेत गुमाएका छन् ।”
उनि थप्छिन्, “यो महत्वपूर्ण अवस्थामा बालबालिकालाई खाना र आश्रय मात्र दिनु पर्याप्त हुँदैन । उनीहरूलाई यो पिडाबाट बाहिर निकाल्न सुरक्षित वातावरण, विस्थापनसँगै बढ्ने जोखिमबाट सुरक्षा, स्वच्छ पानी र सरसफाइमा पहुँच तथा पुनः विद्यालय फर्कने र सामान्य जीवनतर्फ उन्मुख हुने अवसर दिलाउनु आवश्यक छ । यी सबै कुरा बालबालिकाको पुनःस्थापना र समग्र कल्याणका लागि अत्यावश्यक छन् ।”
एक महिना बित्दा पनि नहटेको त्रासदी
“बाढीले हाम्रो घर मात्र बगाएन, यसले हाम्रा बालबालिकाको सुरक्षाको अनुभूति पनि खोसिदियो,” बाढीपछि हाल नुवाकोटमा आफ्नो परिवारसँगै आश्रय लिइरहेकी स्मिता, (एक हजुरआमा) दुखेसो पोख्छिन् ।
उनि भन्छिन्; “आज पनि बाढीसम्बन्धी सुरक्षा सूचना सुन्नेबित्तिकै बालबालिकाहरू आत्तिन्छन् र भाग्नका लागि तयार हुन्छन् । हामीले यो केन्द्रसम्म बाढी नआउने भनेर सम्झाउँदा पनि उनीहरू नदी बढेर यहाँसम्म आइपुग्छ भन्ने डरले रुन्छन् र यहाँबाट भाग्न अनुरोध गर्छन् । उनीहरूको मन पूर्ण रूपमा त्यही डरले भरिएको छ ।”
किशोरीहरूको मर्यादामाथिको संकट — विपद्को अदृश्य असर
विपद्पछि विस्थापित भएर रहँदाको अवस्थामा महिनावारी स्वच्छता व्यवस्थापनलाई प्राथमिकता नदिइँदा किशोरीहरुले चुनौतीको सामना गर्नु परिरहेको छ । उद्धार पश्चात अस्थायी आश्रय केन्द्रमा बसिरहेका १४ वर्षीया प्रिन्शा र १७ वर्षीया सुभेच्छा आधारभूत सामग्री तथा गोपनीयताको अभावमा महिनावारी व्यवस्थापन गर्नुपर्दा आफूहरूले भोगेको डर र असहजताबारे बताउँछन् ।
“मसँग स्यानिटरी प्याड नभएकाले महिनावारी सुरु हुन्छ कि भनेर डर लागेको थियो । मेरी आमाले पनि मेरो महिनावारी नहोस् भनेर प्रार्थना गरिरहनुभएको थियो,” १४ वर्षीया प्रिन्शा भन्छिन् ।
१७ वर्षीया सुभेच्छा भन्छिन्, “बाढीका कारण विस्थापित हुनु आफैंमा निकै डर लाग्दो थियो। तर स्यानिटरी सामग्री, सफा कपडा र गोपनीयताको अभावमा महिनावारी व्यवस्थापन गर्नुपर्दा अवस्था अझ कठिन भयो। सौभाग्यवश, एक साथीले आवश्यक सामग्री उपलब्ध गराइन् ।”
किशोरीहरुका यि समस्यालाई मध्येनजर गर्दै वल्र्ड भिजन इन्टरनेशनल नेपालले वितरण गरेका मर्यादा किटमा स्यानिटरी प्याडसँगै साबुन, भित्री वस्त्र तथा अन्य आवश्यक सामग्री समावेश छन् । हालसम्म यस्ता किट ४८९ महिला तथा किशोरीलाई वितरण गरिएको छ । यद्यपि, संस्थाको आफ्नै स्थलगत मूल्याङ्कनले यस्ता सामग्रीको आवश्यकता अझै धेरै रहेको देखाएको छ ।
गुमेको आम्दानीको स्रोत — अभिभावकको सबैभन्दा ठूलो चिन्ता
“हाम्रो रेस्टुरेन्ट नै परिवारको एकमात्र आम्दानीको स्रोत थियो । त्यसकै आम्दानीबाट हामीले छोराछोरीको शिक्षा र दैनिक आवश्यकता पूरा गर्दै आएका थियौँ । अहिले त्यो गुमेपछि हामी कसरी अगाडि बढ्ने भन्ने अन्यौलमा छौँ । सबैभन्दा बढी चिन्ता छोराछोरीको भविष्यको छ,” आफ्नो रेस्टुरेन्ट गुमाएकी दुई सन्तानकी एक आमा निराश मुद्रामा सुनाउँछिन् ।
प्रभावित परिवारका लागि जीविकोपार्जनमा सहयोग पुनःस्थापनाको महत्वपूर्ण हिस्सा हो । समयमै आवश्यक सहयोग उपलब्ध हुन नसके परिवारहरू ऋण लिने, बाँकी सम्पत्ति बेच्ने तथा खाद्यान्नको उपभोग घटाउनेजस्ता नकारात्मक अभ्यास गर्न बाध्य हुन सक्छन् । जसको प्रभाव बालबालिकामा अझै धेरै पर्न सक्छ । लामो समयसम्म घरपरिवारमा खाद्य असुरक्षा कायम रहँदा कुपोषण, शिक्षामा अवरोध तथा बालश्रमको जोखिम समेत बढ्न सक्छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको हालसम्मको प्रतिकार्य
वल्र्ड भिजनले यस विपद्को प्रतिकार्यमा नेपाल सरकारको एकद्वार नीति अनुसरण साथै विद्यमान नीति तथा मापदण्ड पालना गर्दै स्थानीय साझेदार संस्था किर्डाक नेपाल र गुड नेबर्स नेपाल मार्फत काम गरिरहेको छ ।
गत असोज ४ (२० सेप्टेम्बर) सम्म वल्र्ड भिजन इन्टरनेशनल नेपालले कुल ८,६८४ जनासम्म सहायता पु¥याएको छ, जसमा ३,५२१ बालबालिका र २५८ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमा आपत्कालीन खाद्य प्याकेज, बालमैत्री स्थान, बालबालिकालाई आश्रयसम्बन्धी किट, स्वच्छता किट, किशोरीलाई मर्यादा किट, भान्साका सामग्री सेट, बिछ्यौना सेट, पानी सुद्धीकरणका लागि एक्वा ट्याब, पानी ट्यांकी तथा पाइप सेट लगायत सहायता सामग्री वितरण गरिएको छ ।
यसका साथै रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा अत्यावश्यक सेवा पुनःसञ्चालन गर्न ४ वटा संस्थालाई कार्यालय सामग्री उपलब्ध गराइएको छ । जसमा १ स्वास्थ्य चौकी, १ वडा कार्यालय र २ गाउँपालिका कार्यालय रहेका छन् । उद्धार कार्य तथा होल्डिङ सेन्टरमा रहेका मानिसहरूको विस्तृत तथ्याङ्क संकलनमा स्थानीय सरकारलाई सहयोग गर्न ३ जना स्वयंसेवक परिचालन गरिएको छ ।
बिदुर नगरपालिकास्थित खानेपानी उपभोक्ता समितिलाई दुई वटा ११० केभीए स्टेबलाइजर हस्तान्तरण तथा जडान गरिएको छ । यसबाट करिब २५,००० मानिस, जसमा १०,००० बालबालिकालाई निरन्तर सुरक्षित खानेपानी आपूर्तिमा सहयोग पुग्नेछ ।
“यो आशाको प्रतिकार्य हो, हाम्रो प्रतिकार्यको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रभावित बालबालिका र उनीहरूका परिवारका साथमा हाम्रो उपस्थिति हो । यि कार्यहरुका कारण, उनीहरूको कुरा सुनिएको छ, उनीहरूलाई देखिएको छ र उनीहरू एक्ला छैनन् भन्ने अनुभूति दिलाइएको छ ।” वल्र्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन गेब्रियल भन्छिन् । ”
पुनःस्थापनातर्फको यात्रा
विभिन्न संघसंस्थाहरुको सामुहिक प्रयत्नमा अघि बढेको तीन महिनाको आपत्कालीन राहत अवधि ३० नोभेम्बरसम्म सञ्चालन हुनेछ । यस अवधिमा आपत्कालीन खाद्य सहायता, स्वच्छ पानीमा पहुँच, गैर–खाद्य तथा स्वच्छता सामग्री साथै बाल संरक्षणमा केन्द्रित भएर काम अघि बढ्दैछ ।
त्यसपछि १२ महिनाको प्रारम्भिक पुनःस्थापना चरण सुरु हुनेछ । उक्त चरणमा जीविकोपार्जन पुनःस्थापना, सुरक्षित रूपमा बालबालिकालाई पुनः सिकाइमा फर्काउने, आश्रयको पुनःस्थापना, दीर्घकालीन रूपमा समावेशी स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाइ र स्वच्छता सेवामा पहुँच स्थापना तथा स्थानीय स्तरमा बालबालिका र महिलाको संरक्षण प्रणालीलाई थप सुदृढ बनाउने कार्यमा ध्यान केन्द्रित गरिनेछ ।
यस प्रतिकार्यका लागि विश्व समुदायमा ४० लाख अमेरिकी डलरको अपिल गरिएको छ, जसमा २० लाख अमेरिकी डलर आपत्कालीन राहत र २० लाख अमेरिकी डलर प्रारम्भिक पुनःस्थापनाका लागि छुट्याइएको छ । हालसम्म वल्र्ड भिजनका सहयोगी कार्यालयहरू तथा साझेदार संस्थाहरूबाट ३५ लाख अमेरिकी डलरभन्दा बढी रकम सुनिश्चित भइसकेको छ ।
बाढीले विपत्ति निम्त्याएको छ, मनभरी पिडा छ, त्रासदीपूर्ण दैनिकी छ । जनधनको ठुलो क्षति छ, भविष्यप्रतिको गहिरो चिन्ता छ । यि सबै कठिन अवस्थाहरुकै बिच जीवनप्रतिको मधुरो आशा छ, भविष्यप्रतिको झिनो भरोसा पनि । बाढी प्रभावितलाई यथाशीघ्र सहज र सुरक्षित जीवनमा फर्काउन हरेकले आ–आफ्नो ठाउँबाट कुनै न कुनै भूमीका खेल्नु जरुरी छ ।
शहिदनगरका मेयर यादवले ‘जुबान’ दिएर गराए लाखौँको काम, भुक्तानीमा ठेकेदारसँग गद्दारीको आरोप
- २०८३ असोज २१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगरका मेयर दिनेश प्रसाद यादवले ठेकेदारसँग गद्दारी गरेको भन्दै प्रशासनमा उजुरी परेको छ । मेयर यादवले काम गराएर रकम भुक्तानी नगरेको आरोप ठेकेदारको छ । शहिदनगरका
पूरा पढ्नुहोस्


