मधेशबाट कांग्रेस पदाधिकारीमा बढ्यो दाबी, उपसभापतिमा ३ र सहमहामन्त्रीमा ८ उम्मेदवार

२०८३ असोज २१ बुधबार
बिहान ०९:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश प्रदेशबाट केन्द्रीय पदाधिकारीका लागि उम्मेदवारी दिने नेताहरूको संख्या बढेको छ । विशेषगरी उपसभापति र सहमहामन्त्री पदमा मधेशका नेताहरूले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

उपसभापति पदमा मधेशबाट धनुषाका डा. चन्द्रमोहन यादव, बारा–पर्साका फरमुल्लाह मन्सुर र सप्तरीका रञ्जित कर्णले उम्मेदवारी दिएका छन् ।

धनुषाका डा. चन्द्रमोहन यादवले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका हुन् । उनी यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । पछिल्लो समय शेखर कोइराला समूहसँग निकट रहेका यादव कांग्रेसको मूलधारमा फर्किने क्रममा चर्चामा आएका थिए ।

त्यस्तै, फरमुल्लाह मन्सुरले समावेशी उपसभापतिमा उम्मेदवारी दिएका छन् । १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित मन्सुर पूर्वश्रम तथा रोजगारमन्त्रीसमेत हुन् । लामो राजनीतिक यात्रामा संसदीय तथा संगठनात्मक अनुभव हासिल गरेका मन्सुर यसपटक सहमहामन्त्रीबाट एक तह माथि उक्लिने प्रयासमा छन् ।

सप्तरीका रञ्जित कर्णले पनि समावेशी उपसभापतिमा उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका कर्ण २०६९ सालमा नेविसंघको नेतृत्वमा पुगेका थिए । पछिल्लो समय उनी कांग्रेसको मधेश राजनीतिमा सक्रिय छन् ।

सहमहामन्त्रीमा महेन्द्र यादवसहित मधेशबाट ८ जनाको उम्मेदवारी परेको छ ।

पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले मधेशी क्लस्टरतर्फ पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । १४औँ महाधिवेशनमा देउवा समूहबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएका यादव यसपटक भने सभापति गगनकुमार थापा नेतृत्वको समूहमा सक्रिय छन् ।

यादवले यसअघि प्राप्त गरेको संगठनात्मक अनुभवलाई निरन्तरता दिँदै मधेश र कांग्रेसबीचको सम्बन्ध थप बलियो बनाउन पुनः सोही पदमा प्रतिस्पर्धा गरेको बताएका छन् ।

सहमहामन्त्रीमा यादवसँगै धनुषाका रामपल्टन साह, मुक्ताकुमारी यादव, सर्लाहीका मनिषकुमार मिश्र, सप्तरीका तेजुलाल चौधरी र धनुषाका अब्दुल सत्तारलगायतले उम्मेदवारी दिएका छन् ।

मुक्ताकुमारी यादव विशेष महाधिवेशनबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री बनेकी थिइन् । उनले पुनः सोही पदमा उम्मेदवारी दिएकी छन् ।

सप्तरीका तेजुलाल चौधरीले थारू क्लस्टरतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । तीनपटक प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरी यसअघि युवा तथा खेलकुद राज्यमन्त्री तथा मन्त्रीसमेत भइसकेका छन् । १४औँ महाधिवेशनमा पनि थारू क्लस्टरतर्फ सहमहामन्त्रीका उम्मेदवार रहेका उनी उमाकान्त चौधरीसँग पराजित भएका थिए ।

धनुषाका अब्दुल सत्तारले मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनी १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले लामो समय उक्त संस्थाको नेतृत्व गरेका थिए ।

मधेशबाट कांग्रेसको पदाधिकारी तहमा ठूलो संख्यामा उम्मेदवारी पर्नुले यसपटकको महाधिवेशनमा मधेशको प्रतिनिधित्व र शक्ति सन्तुलनलाई चासोको विषय बनाएको छ । उपसभापति र सहमहामन्त्री पदमा उम्मेदवारी दिएका नेताहरूको परिणामले कांग्रेसभित्र मधेशको आगामी भूमिकासमेत प्रभावित पार्ने देखिएको छ ।

पदाधिकारीमा ४१ जनाको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा २७ पदाधिकारी पदका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन हुने पदाधिकारीमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३ र सहमहामन्त्री ११ पद रहेका छन् ।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण

  • २०८३ असोज २१ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका किसानहरुलाई विद्युतिय मोटर वितरण कार्यक्रम सुरु भएको छ ।  जनकनन्दिनी गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई विद्युतिय मोटर दिने कार्य सुरु

पूरा पढ्नुहोस्

Bureau Menus