१५ मिनेटसम्म सास रोकेर बसे विद्युत जामवाल, ‘मास्टर’ भन्दै फ्यानले गरे प्रशंसा
कार्यक्रमपछि जामवालले आफूले पतञ्जलि योगसूत्रमा उल्लेख गरिएको विशेष प्रविधि प्रयोग गरेको बताएका छन् । उनका अनुसार उक्त अभ्यासले जीवनका विभिन्न उपलब्धि हासिल गर्न आफूलाई सहयोग गरेको छ र उनले यो प्रविधि युवाहरूलाई समेत सिकाउँदै आएका छन् ।

२०८३ असोज २१ बुधबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो । बलिउड अभिनेता तथा मार्सल आर्टिस्ट विद्युत जामवालले मुम्बईमा आयोजित ‘स्ट्रिट फाइटर’को एक कार्यक्रममा गरेको अनौठो प्रदर्शन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कार्यक्रममा जामवाल ध्यान मुद्रामा बसेर करिब १५ मिनेटसम्म सास रोकेको दाबी गरिएको छ । यस क्रममा उनले आँखा नझिम्काई स्थिर अवस्थामा ध्यान गरेको भिडियोसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ । केही भारतीय सञ्चारमाध्यमले उनले लामो समयसम्म आँखा नझिम्काएको समेत उल्लेख गरेका छन् ।
कार्यक्रमपछि जामवालले आफूले पतञ्जलि योगसूत्रमा उल्लेख गरिएको विशेष प्रविधि प्रयोग गरेको बताएका छन् । उनका अनुसार उक्त अभ्यासले जीवनका विभिन्न उपलब्धि हासिल गर्न आफूलाई सहयोग गरेको छ र उनले यो प्रविधि युवाहरूलाई समेत सिकाउँदै आएका छन् ।
प्रदर्शनपछि उनले नयाँ पुस्तालाई निरन्तर उपलब्धिको दौडमा मात्र नलागी केही समय रोकिएर आफूलाई समय दिन सुझाव दिए । उनले मानिसहरू निरन्तर दौडिरहेको उल्लेख गर्दै कहिलेकाहीँ ‘रुक्न’ र धैर्य गर्न सिक्नुपर्ने सन्देश दिएका थिए ।
जामवालको यो प्रदर्शन उनको आगामी हलिउड फिल्म ‘स्ट्रिट फाइटर’सँग पनि जोडिएको छ । फिल्ममा उनले योग र आध्यात्मिक शक्तिसँग सम्बन्धित चर्चित गेमिङ पात्र धलसिमको भूमिका निर्वाह गरेका छन् । कलारीपयट्टुमा लामो समयदेखि प्रशिक्षण लिएका जामवालको मार्सल आर्ट्स पृष्ठभूमि उक्त पात्रसँग समेत जोडिएको छ ।
उनको प्रदर्शनपछि सामाजिक सञ्जालमा फ्यानहरूले प्रशंसा गर्दै उनलाई ‘मास्टर’ लगायतका उपाधिले सम्बोधन गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…