एजेन्सी । दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमानभित्र सहपाइलटले ककपिटमै कप्तानमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको घटनालाई संयुक्त अरब इमिरेट्स (यूएई)का अधिकारीहरूले ‘आतंकवादी हमला प्रयास’ भनेका छन् ।
फ्लाईदुबईको एफजेड–१०७३ उडानका सहपाइलट हम्माम अल–हम्मामीले गत बुधबार ककपिटभित्र कप्तानमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको यूएईका महान्यायाधिवक्ता हमद सैफ अल–शम्सीले बताएका छन् । उनका अनुसार सहपाइलटले ककपिटमा राखिने आपत्कालीन ‘क्र्यास एक्स’ प्रयोग गरी कप्तानमाथि आक्रमण गरेका थिए ।
घटनापछि विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यले सहपाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए । त्यसपछि विमानमा रहेका अर्का फ्लाईदुबई पाइलटले नियन्त्रण सम्हालेर साउदी अरेबियाको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए । विमानमा १७० भन्दा बढी यात्रु तथा चालक दलका सदस्य थिए, जसमा अधिकांश इजरायली नागरिक रहेको रोयटर्सले जनाएको छ ।
उडानका क्रममा विमान करिब १६ हजार ६ सय २५ फिट तल झरेको फ्लाइट ट्र्याकिङ तथ्यांकले देखाएको छ । घटनापछि पक्राउ परेका सहपाइलटलाई साउदी अरेबियाबाट यूएईको अबुधाबी लगिएको थियो । घटनाको नेतृत्व यूएईले गरिरहेको छ भने इजरायली अधिकारीहरूले पनि अनुसन्धानमा सहभागी हुने बताइएको छ ।
सहपाइलटको पहिचान हम्माम अल–हम्मामीका रूपमा खुलेको छ । उनी ओमानका नागरिक रहेको र यसअघि ओमान एयरमा पाइलट तालिमका क्रममा चरमपन्थी सामग्री भेटिएपछि उडानसम्बन्धी जिम्मेवारीबाट हटाइएको अमेरिकी अधिकारी तथा अनुसन्धानसँग परिचित स्रोतलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालका खातामाथि अनुसन्धान
अमेरिकी सञ्चारमाध्यम सीएनएनसहितका रिपोर्टअनुसार हम्मामीसँग सम्बन्धित भनिएका लिंक्डइन, एक्स र इन्स्टाग्राम खाताहरू घटनापछि हटाइएका छन् । ती खातामा विमानको ककपिटबाट खिचिएको इजरायली विमानसम्बन्धी भिडियो तथा अल–कायदाका पूर्वनेता अयमान अल–जवाहिरीसहितका व्यक्तिका तस्बिर समावेश सामग्री पोस्ट गरिएको दाबी गरिएको छ ।
रिपोर्टअनुसार एउटा भिडियोमा दुबई विमानस्थलमा रहेका इजरायली विमानहरू देखाइएको थियो भने भिडियोको अन्त्यमा अल–कायदाका पूर्वनेता अयमान अल–जवाहिरी र सन् २००९ मा अफगानिस्तानमा सीआईएका अधिकारीहरूलाई लक्षित आत्मघाती हमलासँग जोडिएका हुमाम खलिल अबु–मुलाल अल–बलावीका तस्बिर देखाइएको थियो ।
अर्को सामग्रीमा मक्का, मदिना र जेरुसेलमका धार्मिक स्थललाई समेटिएको दृश्य तथा उत्तेजक भावको कविता प्रयोग गरिएको रिपोर्ट छ । यद्यपि, यी सामाजिक सञ्जाल सामग्रीको वास्तविकता, पोस्ट गर्ने व्यक्ति तथा घटनासँगको प्रत्यक्ष सम्बन्धबारे अनुसन्धान जारी रहेको छ ।
चरमपन्थी विचारबारे पहिले नै प्रश्न
अमेरिकी सञ्चारमाध्यमका अनुसार २९ वर्षीय हम्मामीलाई सन् २०२४ मा ओमान एयरमा सहपाइलट तालिम लिइरहेका बेला चरमपन्थी सामग्री भेटिएको भन्दै उडानबाट रोकिएको थियो । त्यसपछि उनी अन्य विमान कम्पनीसँग सम्बन्धित रहेको र पछि फ्लाईदुबईमा आबद्ध भएको बताइएको छ । उनलाई फ्लाईदुबईले नियुक्त गर्दा विगतको सुरक्षा मूल्यांकन कसरी गरिएको थियो भन्ने विषयसमेत अनुसन्धानको दायरामा रहेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसअघि आक्रमणमा संलग्न सहपाइलट इस्लामिक कट्टरपन्थी विचारबाट प्रभावित भएको बताएका थिए । तर घटनाको वास्तविक उद्देश्य, कसैको निर्देशनमा उनले काम गरेका थिए वा थिएनन् र कुनै संगठनसँग उनको प्रत्यक्ष सम्बन्ध थियो वा थिएन भन्ने विषयमा अनुसन्धान पूरा भइसकेको छैन ।
यूएईका महान्यायाधिवक्ताले घटनाको उद्देश्य, पृष्ठभूमि, सम्भावित सम्बन्ध तथा डिजिटल र भौतिक प्रमाणको समेत परीक्षण भइरहेको बताएका छन् । अनुसन्धान पूरा भएपछि थप तथ्य सार्वजनिक गरिने यूएई अधिकारीहरूले जनाएका छन् ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ असोज १७ शनिबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्

