राराब क्याम्पसको आर्थिक तथा प्रशासनिक गतिविधि पारदर्शी बनाउन विद्यार्थीहरुको धर्ना

२०८३ असोज ९ शुक्रबार
बेलुकी ७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा आर्थिक तथा प्रशासनिक गतिविधि पारदर्शी बनाउन माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले क्याम्पस प्रमुखसमक्ष १० बुँदे मागपत्र बुझाएको छ ।

समितिले आर्थिक वर्ष २०८२/०८३ मा क्याम्पसमा आपूर्तिकर्ता, फर्म तथा कम्पनी सूचीकृत गर्न सार्वजनिक गरिएको सूचनाको प्रतिलिपि, सूचीकृत फर्मको विवरण तथा सम्बन्धित निर्णय वा प्रमाण सार्वजनिक गर्न माग गरेको छ । यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि फर्म तथा आपूर्तिकर्ता सूचीकृत गर्ने सूचना, सूचीकृत फर्मको सूची, छनोटको आधार र सम्बन्धित निर्णयसमेत सार्वजनिक गर्न भनिएको छ ।

विद्यार्थीहरूले क्याम्पसको टीडीएस विवरणमा देखिएका कस्मेटिक, गल्ला–किराना लगायतका आपूर्तिकर्तासँग सम्बन्धित बिल तथा बिजक, प्यान तथा भ्याट विवरण, खरिद आदेश र भुक्तानीसम्बन्धी आवश्यक कागजात सार्वजनिक गर्न माग गरेका छन् ।

त्यस्तै, क्याम्पसको ४ करोड रुपैयाँको योजनालाई टुक्रा–टुक्रा गरी कार्यान्वयन गरिएको भए त्यसको आवश्यकता, कानुनी तथा प्रशासनिक आधार, खरिद विधि र औचित्य स्पष्ट गर्न माग गरिएको छ ।

गत असार ६ गते क्याम्पस प्रशासनबाट जारी ध्यानाकर्षण पत्रको बुँदा नम्बर ४ मा उल्लेखित विषयको आधार, प्रमाण र पुष्टि सार्वजनिक गर्न पनि समितिले माग गरेको छ । टीडीएस विवरणमा देखिएको ‘Bata A/C ear bus’ सम्बन्धी भुक्तानीको उद्देश्य, सेवा वा सामानको विवरण, बिल/सम्झौता तथा भुक्तानी स्वीकृतिसम्बन्धी कागजातसमेत सार्वजनिक गर्न भनिएको छ ।

सार्वजनिक रूपमा चर्चा भएको टीडीएस विवरणसँग सम्बन्धित सम्पूर्ण कागजात, भुक्तानी विवरण, बिल/बिजक, आपूर्तिकर्ताको विवरण, प्यान/भ्याट, खरिद निर्णय, कोटेसन तथा टेन्डरसम्बन्धी कागजात र भुक्तानी स्वीकृति नियमअनुसार सार्वजनिक गर्न विद्यार्थीहरूले माग गरेका छन् ।

त्यसैगरी, आन्तरिक स्रोतबाट नियुक्त कर्मचारी तथा जनशक्तिको नियुक्ति सूचना, पद, संख्या, योग्यता, छनोट प्रक्रिया, नियुक्ति निर्णय, मासिक पारिश्रमिक र हालसम्म भएको कुल भुक्तानी विवरण सार्वजनिक गर्न माग गरिएको छ । आवश्यक जनशक्ति भएमा खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाको आधारसमेत स्पष्ट गर्न समितिले भनेको छ ।

क्याम्पसमा लिइने सीएलसी शुल्क प्रतिलिपि तथा ३०० बाट ५०० रुपैयाँ पुर्‍याइएको निर्णयको आधार, स्वीकृति, लागू मिति र शुल्कबाट प्राप्त रकमको आय–व्यय विवरण विद्यार्थीसमक्ष सार्वजनिक गर्न पनि माग गरिएको छ ।

समितिले क्याम्पस प्रमुख नियुक्त भएको मितिदेखि हालसम्मको आम्दानी–खर्च, आन्तरिक स्रोत, विद्यार्थी शुल्क, कर्मचारी पारिश्रमिक, खरिद, निर्माण तथा अन्य प्रमुख खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरेको छ ।

यसबाहेक क्याम्पसको शैक्षिक प्राथमिकता, विद्यार्थी संख्या, प्राविधिक कार्यक्रम, शिक्षक व्यवस्थापन, प्रयोगशाला तथा पूर्वाधार सुधारसम्बन्धी आगामी योजना विद्यार्थी र सरोकारवालासमक्ष सार्वजनिक गर्न माग गरिएको छ ।

संयुक्त विद्यार्थी संघर्ष समितिले मागहरू कुनै व्यक्तिलाई दोषी ठहर गर्ने उद्देश्यले नभई सार्वजनिक शैक्षिक संस्थाको स्रोत, विद्यार्थीबाट उठेको शुल्क तथा अन्य आम्दानीको प्रयोगबारे सम्बन्धित कागजात र तथ्य सार्वजनिक हुनुपर्ने उद्देश्यले उठाइएको जनाएको छ ।

समितिले आफूहरूले उठाएका विषयमा यथाशीघ्र लिखित जवाफ दिनुका साथै आवश्यक कागजात सार्वजनिक गर्न क्याम्पस प्रशासनसँग आग्रह गरेको छ ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८३ असोज ९ शुक्रबार

Bureau Menus