फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा आयोग, माघमा अन्तिम मतदाता नामावली

२०८३ असोज ३ शनिबार
बिहान ०८:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्ने कानुनी व्यवस्थालाई आधार बनाएर फागुन अन्तिम सातामा निर्वाचन गर्ने तयारी थालेको हो ।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले आफ्नो तयारी अघि बढाइरहेको बताएका छन् । उनका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ ।

‘नियमसंगतले फागुनमा निर्वाचन गर्नुपर्छ । आयोगले आफ्नो काम सबै गरिरहेको छ । सरकारलाई भन्न मात्रै बाँकी छ,’ आयुक्त सुब्बाले भनेका छन् ।

फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुनः मतदाता नामावली अद्यावधिक गरेर अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ ।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने भएकाले त्यसअघि नै नयाँ जनप्रतिनिधि चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

आयोगले यसपटकको स्थानीय तह निर्वाचनमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकतामा राख्ने तयारी गरेको छ । स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा केही जिल्ला र निर्वाचन क्षेत्रबाट अन्तरजिल्ला मतदानको व्यवस्था सुरु गर्ने विषयमा अध्ययन भइरहेको आयोगका आयुक्त सुब्बाले बताएका छन् ।

त्यसैगरी आगामी निर्वाचनलाई क्रमशः विद्युतीय मतदान प्रणालीतर्फ लैजाने विषयमा समेत आयोगले तयारी गरिरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास वा नियोगमार्फत विद्युतीय मतदान गराउने सम्भावनाबारे पनि अध्ययन भइरहेको आयोगले जनाएको छ ।

निर्वाचनको मिति भने सरकारले घोषणा गर्नुपर्नेछ । आयोगले आवश्यक तयारी अघि बढाए पनि अन्तिम निर्वाचन मिति घोषणा भएपछि मात्रै निर्वाचन कार्यक्रम औपचारिक रूपमा लागू हुनेछ ।

यसअघि प्रतिनिधिसभा निर्वाचनका लागि पनि निर्वाचन आयोगले विस्तृत कार्यतालिका बनाएर तोकिएको समयमा निर्वाचन सम्पन्न गरेको थियो । आयोगले निर्वाचन व्यवस्थापन, मतदाता नामावली, निर्वाचन अधिकृतको कार्यालय स्थापना, प्रचारप्रसार तथा मतदानसम्मका चरणहरूलाई कार्यतालिकामा समेट्दै आएको छ ।

आगामी स्थानीय तह निर्वाचनमा देशभरका स्थानीय तहका जनप्रतिनिधि चयन हुने भएकाले आयोगले अहिलेबाटै निर्वाचन सामग्री, मतदाता विवरण, मतदान केन्द्र तथा आवश्यक व्यवस्थापनका विषयमा तयारी अघि बढाउने संकेत गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus