न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरबको पवित्र शहर मक्का नजिकै हुथी विद्रोहीले प्रहार गरेको भनिएको ड्रोन साउदी हवाई प्रतिरक्षा प्रणालीले खसालेपछि मध्यपूर्वमा सुरक्षा तनाव थप चर्किएको छ । घटनापछि साउदी अरबले मक्कालाई ‘रेड लाइन’ भन्दै दुई पवित्र मस्जिदको सुरक्षामा कुनै सम्झौता नगर्ने जनाएको छ ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीका अनुसार मंगलबार साँझ मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै ड्रोनलाई दक्षिणी क्षेत्रमा रोकिएको थियो । उनका अनुसार ड्रोन हुथी विद्रोही समूहबाट प्रक्षेपण भएको थियो ।
तर यमनमा सक्रिय हुथी समूहले मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गरेको छ । उसले साउदीको आरोपलाई ‘झुट र बनावटी दाबी’ भन्दै आफूले धार्मिकस्थललाई निशाना नबनाएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रोयटर्सका अनुसार पछिल्लो घटनासँगै साउदी अरबमाथि हुथी आक्रमणको दबाब तीव्र भएको छ । हुथीहरूले साउदीका विभिन्न शहर तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र आक्रमण बढाएका छन् । त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनले यमनमा हवाई आक्रमण गरिरहेको छ ।
इजरायलसँग गुप्तचर सहयोगबारे सम्पर्क
मक्कानजिक ड्रोन खसालिएको घटनाभन्दा केही दिनअघि नै साउदी अरब र इजरायलबीच हुथी खतराविरुद्ध सम्भावित गुप्तचर सहयोगबारे सम्पर्क भएको रिपोर्ट सार्वजनिक भएको थियो ।
द जेरुसेलम पोस्टले क्षेत्रीय कूटनीतिक स्रोतलाई उद्धृत गर्दै साउदी अरब र इजरायलबीच अमेरिकी सेन्ट्रल कमान्डको मध्यस्थतामा हुथीविरुद्ध गुप्तचर सहयोगका विषयमा छलफल भएको जनाएको छ । रिपोर्टअनुसार उद्देश्य साउदी अरबलाई हुथी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबारे सूचना उपलब्ध गराउनु रहेको बताइएको छ ।
इजरायल हायोमले पनि क्षेत्रीय कूटनीतिक तथा सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै रियादले हुथी खतराविरुद्ध इजरायली गुप्तचर सहयोग खोजेको रिपोर्ट गरेको छ ।
तर यसलाई मक्कामाथिको ड्रोन घटनासँग प्रत्यक्ष जोडेर ‘साउदीले मक्का बचाउन इजरायलसँग सैन्य सहयोग माग्यो’ भन्न मिल्ने स्वतन्त्र पुष्टि अहिलेसम्म सार्वजनिक भएको छैन ।
साउदीलाई सहयोगी खोज्नुपर्ने अवस्था
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार साउदी अरबको क्षेप्यास्त्र रोक्ने प्रतिरक्षा सामग्रीको भण्डार दबाबमा परेको छ । क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै एपीले साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग हवाई प्रतिरक्षा सहयोगका लागि सम्पर्क गरेको जनाएको छ ।
साउदी युवराज मोहम्मद बिन सलमानले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत हुथीविरुद्ध सैन्य सहयोग मागेको रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको थियो । तर अमेरिकाले प्रत्यक्ष आक्रमणमा सहभागी हुनुको सट्टा गुप्तचर तथा लक्ष्य पहिचानसम्बन्धी सहयोगमा सीमित रहने नीति अपनाएको रिपोर्ट छ ।
यसैबीच रोयटर्सले यमनको लालसागर किनारमा हुथीहरूको पछिल्लो सैन्य प्रगतिले साउदी सुरक्षामाथि नयाँ चुनौती सिर्जना गरेको जनाएको छ । बाब अल–मन्दब क्षेत्रमा हुथी प्रभाव बढ्नुले साउदीको ऊर्जा निर्यात तथा लालसागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक आवागमनमा समेत जोखिम बढाएको छ ।
मक्कामाथि दोस्रोपटक निशाना ?
साउदी पक्षले पछिल्लो घटनालाई मक्का लक्षित दोस्रो प्रयासका रूपमा व्याख्या गरेको छ । अरब न्युजका अनुसार साउदी विदेश मन्त्रालयले यसअघि सन् २०१७ जुलाई २७ मा पनि मक्कातर्फ क्षेप्यास्त्र प्रहारको प्रयास भएको दाबी गर्दै पछिल्लो घटनालाई त्यसको पुनरावृत्ति भनेको छ ।
मक्काको सुरक्षासम्बन्धी घटनाले मुस्लिम विश्वमा व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ । इस्लामिक सहयोग संगठनलगायत विभिन्न मुस्लिम देश तथा संस्थाहरूले घटनाको निन्दा गर्दै साउदी अरबप्रति ऐक्यबद्धता जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले समेत घटनाको निन्दा गर्दै साउदी अरबको सार्वभौमसत्ता र सुरक्षाप्रति समर्थन जनाएका छन् ।
यस घटनाले एकातर्फ मक्का र मदिनाको सुरक्षालाई लिएर साउदी अरबमाथि बढ्दो दबाब देखाएको छ भने अर्कोतर्फ हुथीविरुद्ध क्षेत्रीय सुरक्षा सहकार्यको नयाँ समीकरण बन्न थालेको संकेत गरेको छ । इजरायलसँगको गुप्तचर सम्पर्कसम्बन्धी रिपोर्ट सार्वजनिक हुनुले मध्यपूर्वको बदलिँदो सुरक्षा समीकरणलाई थप चासोको विषय बनाएको छ ।
धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान
- २०८३ असोज १ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख
पूरा पढ्नुहोस्




