तीज पर्वमा बढ्दो ‘अश्लील नाच’प्रति सबैलाका वडाध्यक्ष यादवको आपत्ति, ‘धर्मका नाममा जे पनि नगरौँ’

२०८३ भदौ ३० मंगलबार
बिहान ११:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबिला नगरपालिका–११ का वडाध्यक्ष सरोज यादवले तीजलगायत धार्मिक पर्वका नाममा बढ्दै गएको अश्लीलता र भड्किलो प्रदर्शनप्रति आपत्ति जनाएका छन् ।

वडाध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धार्मिक अनुष्ठान गरिरहेको अवस्थामा झनै अनुशासित हुनुपर्नेमा पर्वका नाममा अश्लील नाच र प्रदर्शन गर्ने प्रवृत्ति बढ्नु दुःखद भएको बताएका हुन् ।

‘यदि धर्मको अनुष्ठान हामी गर्दैछौँ भने हामी झन अनुशासित हुनुपर्ने हो, तर झन अश्लीलता किन होला ? पर्वको नाममा नाङ्गो नाच ! सभ्यपूर्वक पनि नाच्न सकिन्छ नि,’ यादवले लेखेका छन् ।

उनले धर्मको नाममा जे पनि गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै विभिन्न धर्मका अनुयायीहरूले आफ्नो धार्मिक संस्कार र अनुशासन कायम राख्ने विषयबाट सिक्नुपर्ने धारणा पनि राखेका छन् । धार्मिक आस्थामाथि आलोचना वा गाली गर्नुभन्दा एक–अर्काको धार्मिक अभ्यास र अनुशासनबाट सकारात्मक शिक्षा लिनुपर्ने उनको भनाइ छ ।

यादवले तीजको मौलिक महत्वसमेत स्मरण गराउँदै भगवान् शिवलाई प्राप्त गर्न माता पार्वतीले गरेको कठोर तपस्या, त्याग, श्रद्धा, संयम र समर्पण नै तीजको मूल भाव भएको उल्लेख गरेका छन् ।

उनका अनुसार पछिल्लो समय तीजलाई ‘दर खाने’ संस्कारमा मात्रै सीमित गर्ने र पर्वको मौलिक मर्मभन्दा मनोरञ्जन तथा प्रदर्शनलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ ।

‘तीज केवल दर खाने पर्व होइन, यो श्रद्धा, नारी शक्ति, आत्मसंयम र संस्कृतिको पर्व हो,’ यादवले भनेका छन् ।

समयअनुसार संस्कृति र परम्परामा परिवर्तन आउनु स्वाभाविक भए पनि परिवर्तनका नाममा संस्कृतिको मूल भावना नै गुमाउन नहुने उनको धारणा छ । पर्वलाई खुसीपूर्वक मनाउँदै पुर्खाले हस्तान्तरण गरेको संस्कार र संस्कृतिको मूल भावना पनि जोगाउनुपर्ने उनले बताएका छन् ।

‘संस्कृति जोगियो भने पहिचान जोगिन्छ, पहिचान जोगियो भने हाम्रो सभ्यता जोगिन्छ,’ यादवले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् ।

उनले अन्त्यमा ‘सभ्यता मेटियो भने हामी मेटिने छौँ’ भन्दै धार्मिक तथा सांस्कृतिक पर्व मनाउने क्रममा सभ्यता, मर्यादा र अनुशासन कायम राख्न आग्रह गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ भदौ ३० मंगलबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus