सरकारले पैसा दिन्छ, अस्पतालले आमासँग फेरि पैसा लिन्छःआमा सुरक्षा कार्यक्रममै नियमको धज्जी

२०८३ भदौ २७ शनिबार
बिहान ०८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले सेवाग्राही महिलाबाट औषधि, प्रयोगशाला परीक्षण, उपकरण, सामान तथा सेवाबापत अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी “आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८” ले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई सरकारले तोकिएको इकाई मूल्य उपलब्ध गराउने र सोही रकमबाट सेवाग्राही महिलालाई आवश्यक सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकाको इकाई मूल्यसम्बन्धी व्यवस्थाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने रकमबाट सेवाग्राही महिलालाई आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच, औषधि, उपकरण तथा सामान खरिद गरी अनिवार्य रूपमा निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

त्यसैगरी निर्देशिकाले सेवाग्राही महिलाबाट औषधि, उपकरण, सामान, प्रयोगशाला शुल्क वा सेवाबापत कुनै पनि शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले सेवाग्राहीलाई निःशुल्क प्रसूति सेवा उपलब्ध गराएबापत अनुसूची–२ मा तोकिएको इकाई मूल्य प्राप्त गर्ने व्यवस्था छ । निर्देशिकाको दफा ३ मा समेत इकाई मूल्यलाई स्वास्थ्य संस्थाले सेवाग्राही महिला वा नवजात शिशुलाई प्रदान गरेको निःशुल्क प्रसूति तथा नवजात शिशु उपचार सेवाबापत प्राप्त गर्ने रकमका रूपमा परिभाषित गरिएको छ ।

यस व्यवस्थाअनुसार आमा सुरक्षा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन पुगेकी महिलाबाट कार्यक्रमभित्र पर्ने औषधि, प्रयोगशाला परीक्षण वा आवश्यक सामग्रीका नाममा पुनः शुल्क असुल्नु निर्देशिकाको उद्देश्यसँग मेल नखाने देखिन्छ ।

विशेषगरी सरकारी रकमसमेत प्राप्त गर्ने तर सेवाग्राहीबाट पनि सोही सेवाका नाममा रकम असुल्ने अवस्था भएमा त्यसबारे सम्बन्धित स्वास्थ्य संस्था तथा नियमन गर्ने निकायले स्पष्ट गर्नुपर्ने देखिन्छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले सरकारबाट इकाई मूल्य प्राप्त गरिसकेको अवस्थामा सेवाग्राही महिलाबाट कुन शीर्षकमा र कति रकम असुल गर्न मिल्छ ? भनेर प्रश्न पनि उठेको छ ।

यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्राप्त गरेको सरकारी रकम, सेवाग्राहीको उपचारमा भएको खर्च, औषधि तथा प्रयोगशाला सेवाको विवरण र बिरामीबाट लिइएको शुल्कको विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ ।

आमा सुरक्षा कार्यक्रमको मूल उद्देश्य नै आर्थिक अभावका कारण महिलाले सुरक्षित प्रसूति सेवा पाउनबाट वञ्चित हुन नदिनु हो । तर कार्यक्रमअन्तर्गत निःशुल्क भनिएको सेवामै सेवाग्राहीले रकम तिर्नुपर्ने अवस्था आएमा कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनमाथि प्रश्न उठ्ने देखिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus