सरकारी गाडीसहित क्यासिनोबाट सखुवा प्रसौनीका गाउँपालिका अध्यक्ष यादव पक्राउ
यद्यपि, अध्यक्ष यादवले क्यासिनोमा जुवा खेलेका थिए वा थिएनन् तथा उनी क्यासिनो परिसरमा कुन प्रयोजनका लागि पुगेका थिए भन्ने विषय प्रहरीले अनुसन्धानबाट स्पष्ट गर्ने जनाएको छ । प्रहरीको आधिकारिक विवरण र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता तथा अध्यक्ष यादवमाथि हुने सम्भावित कानुनी कारबाहीबारे स्पष्ट हुने देखिएको छ ।

२०८३ भदौ २१ आइतबार, बिहान ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जस्थित क्यासिनोबाट पक्राउ परेका छन् ।
शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले क्यासिनो परिसरबाट सखुवा प्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ । सरकारी जिम्मेवारीमा रहेका गाउँपालिका अध्यक्ष सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि उनलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
यादवसँगै क्यासिनोका कर्मचारी तथा अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ । सरकारी सवारीसाधन क्यासिनोमा किन र कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाको विस्तृत विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् ।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी प्रतिबन्ध छ । यस्तो अवस्थामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि घटनाले सरकारी स्रोतसाधनको प्रयोग र जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठाएको छ ।
यद्यपि, अध्यक्ष यादवले क्यासिनोमा जुवा खेलेका थिए वा थिएनन् तथा उनी क्यासिनो परिसरमा कुन प्रयोजनका लागि पुगेका थिए भन्ने विषय प्रहरीले अनुसन्धानबाट स्पष्ट गर्ने जनाएको छ ।
प्रहरीको आधिकारिक विवरण र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता तथा अध्यक्ष यादवमाथि हुने सम्भावित कानुनी कारबाहीबारे स्पष्ट हुने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…