भारतमा एआई भिडियो बनाउने युवक पक्राउ, जनकपुरका धार्मिकस्थल लक्षित सामग्रीमा प्रशासन मौन
तर, जनकपुरको मठ मन्दिरलाई लक्षित गरी एआईबाट भिडियो बनाएर पोष्ट गर्नेहरुमाथि प्रहरी लचकता देखाएको देखिएको छ ।
२०८३ कार्तिक ५ बिहीबार, बेलुकी ५:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको कर्नाटकस्थित विधान सौध (विधानसभा भवन) लाई बम विस्फोट गराएर ध्वस्त पारेको जस्तो देखिने कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्मित भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । तर जनकपुरधाममा जानकी मन्दिरसहित धार्मिक तथा सांस्कृतिक सम्पदालाई लक्षित गरी आपत्तिजनक भिडियो बनाउनेहरूमाथि प्रहरीको कारबाही कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ ।
भारतको बेंगलुरु प्रहरीले बिहारको अररिया जिल्लाका २५ वर्षीय हजरत अली शोएबलाई एआईबाट तयार पारिएको नक्कली विस्फोटको भिडियो इन्स्टाग्राममा पोस्ट गरेको आरोपमा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त भिडियोमा कर्नाटक सरकारको महत्वपूर्ण प्रशासनिक भवन विधान सौधमा ठूलो विस्फोट भएको जस्तो दृश्य देखाइएको थियो । भिडियोसँगै ‘विधानसभा बमले उडाइदिएँ’ भन्ने अर्थ लाग्ने क्याप्सनसमेत राखिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले सामाजिक सञ्जालको निगरानीका क्रममा उक्त भिडियो फेला पारेपछि घटनाको अनुसन्धान सुरु गरेको थियो । सम्बन्धित खाताको डिजिटल गतिविधि तथा आईपी विवरणलगायतका आधारमा आरोपीको पहिचान गरी पक्राउ गरिएको हो । भिडियो बनाउनुको उद्देश्य र त्यसमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जनकपुरमा पनि सामाजिक सञ्जालको दुरुपयोगका घटना
जनकपुरधाममा धार्मिक आस्था, मन्दिरको मर्यादा तथा सामाजिक सद्भावमा असर पार्न सक्ने भिडियो र गतिविधि सार्वजनिक भएका घटना नयाँ होइनन् ।केही दिन अगाडी एक युवकले जानकी मन्दिरलाई बमले उडाएको एआई सृजित भिडियो पोष्ट भएको थियो । यसमा धनुषा प्रहरीले भने चासो लिएको देखिएनन् ।
पछिल्लो समय पनि धनुषा प्रहरीले सामाजिक सञ्जालमा आपत्तिजनक तथा हिंसा भड्काउन सक्ने सामग्री पोस्ट गरेको आरोपमा कारबाही गरेको समाचार सार्वजनिक भएका छन् । असोज २७ गते जनकपुर उपमहानगरपालिका–९ बाट लक्ष्मीनिया गाउँपालिका–१ का २० वर्षीय राजु यादव उर्फ क्रिमिनल पक्राउ परेको धनुषा प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, टिकटकमा डर, धम्की र हिंसासँग सम्बन्धित भिडियो पोस्ट गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–१९ का करिब २१ वर्षीय पशुपति पासवान पनि पक्राउ परेको समाचार प्रकाशित भएको थियो । ्
तर, जनकपुरको मठ मन्दिरलाई लक्षित गरी एआईबाट भिडियो बनाएर पोष्ट गर्नेहरुमाथि प्रहरी लचकता देखाएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…