न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव नजिकिँदैछ । जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु भइसक्नुपर्ने बेला ऐतिहासिक जानकी मन्दिर भने अन्योलमा परेको छ ।
सरकारले जानकी मन्दिरसमेत समेटिने गरी परिक्रमा सडक आसपासका विभिन्न
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव नजिकिँदैछ । जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु भइसक्नुपर्ने बेला ऐतिहासिक जानकी मन्दिर भने अन्योलमा परेको छ ।
सरकारले जानकी मन्दिरसमेत समेटिने गरी परिक्रमा सडक आसपासका विभिन्न चोकलाई चार किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरभित्र हुने भौतिक कामदेखि विवाहपञ्चमीको तयारीसम्म प्रभावित भएको हो ।
मन्दिरको रंगरोगन, सौन्दर्यीकरण, भौतिक संरचनाको मर्मत तथा विवाहपञ्चमीको व्यवस्थापनका लागि गरिँदै आएका तयारी अहिले रोकिएका छन् । गुठी संस्थान, पुरातत्व विभाग र नेपाली सेनाको प्रकौली गणबाट मन्दिरमा भौतिक संरचनासम्बन्धी काम नगर्न महन्त रामतपेश्वर दास वैष्णवलाई जानकारी गराइएको छ ।
यसपछि महन्त दासले मन्दिरमा नियमित पूजाआजा बाहेकका काम अघि नबढाउने बताएका छन् ।
‘सरकारी निकायहरुले काम गर्न नभनेकोले म पनि चुप लागेर बसेको छु,’ महन्त दासले भने, ‘विवाहपञ्चमीको तयारीमा पनि लागेको छैन ।’
विगतका वर्षमा विवाहपञ्चमीको तयारीमा महन्तले सर्वपक्षीय बैठक बोलाउने, विभिन्न पक्षलाई जिम्मेवारी बाँड्ने र महोत्सव व्यवस्थापनका काम अघि बढाउने गरेका थिए । तर यसपटक सरकारी निकायबाट भौतिक काम नगर्न निर्देशन आएपछि उनी निष्क्रिय बसेका छन् ।
‘यस पटक हामीलाई केही नगर्न निर्देशन दिएको छ । त्यसैले चुप लागेर बसेको छु,’ महन्त दासले भने, ‘अहिले भगवानको दैनिक पूजाआजा बाहेकका कार्यहरु गरिरहेका छैनौँ ।’
मन्दिरको रंगरोगन र सौन्दर्यीकरणदेखि आवश्यक मर्मतसम्मका काम महन्तले विगतमा गर्दै आएका थिए । तर अहिले सम्बन्धित सरकारी निकायहरुले काम रोक्न भनेका छन् । काम रोक्ने निर्देशन आए पनि त्यसको विकल्पमा कसले, कहिले र कुन प्रक्रियाबाट काम गर्ने भन्ने स्पष्टता भने देखिएको छैन ।
जानकी मन्दिरको भित्री परिसरमा लगाइएका टायल्स उप्किन थालेका छन् । बाहिरी परिसरका टायल्सको अवस्था पनि राम्रो छैन । मधेश प्रदेश सरकारले मन्दिरलाई आकर्षक बनाउन लगाएको टायल्स सुरुदेखि नै उप्किने र फुट्ने समस्या देखिएको बताइएको छ ।
त्यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विद्युतीकरणका क्रममा मन्दिरको मूल संरचना तथा बाहिरी संरचनामा प्वाल पारेको बताइएको छ । वर्षाको पानी पर्दा मन्दिर निर्माणमा प्रयोग गरिएको सुर्खीसमेत बग्न थालेको छ ।
यसअघि मन्दिरको दक्षिणतर्फको छाना चुहिने भन्दै पुरातत्व विभागले हिल्टी प्रयोग गरी मर्मत गरेको विषयमा पनि आलोचना भएको थियो ।
तर अहिले संरक्षित क्षेत्र घोषणा भएपछि मूल प्रश्न झनै गम्भीर बनेको छ,संरक्षित क्षेत्रभित्र आखिर गर्न पाइने काम के हो र गर्न नपाइने काम के हो ?
सरकारले संरक्षित क्षेत्र घोषणा गरे पनि हालसम्म नागरिक बडापत्रमार्फत स्पष्ट रुपमा ‘के गर्न पाइन्छ, के गर्न पाइँदैन’ भन्ने व्यवस्था सार्वजनिक गरेको छैन । संरक्षित क्षेत्रभित्र हुने कारोबार तथा निर्माणसम्बन्धी गतिविधिको स्पष्ट मापदण्डसमेत सार्वजनिक हुन बाँकी छ ।
त्यसैगरी जानकी मन्दिरको सञ्चालन प्रणालीबारे पनि अन्योल कायमै छ । मन्दिर परम्परागत गुरु-शिष्य प्रणालीअनुसार सञ्चालन हुने हो वा सरकारले छुट्टै ट्रस्ट स्थापना गरी सञ्चालन गर्ने हो भन्ने विषय अझै टुंगिएको छैन ।
यही अन्योलबीच विवाहपञ्चमी नजिकिँदै गएको छ । मन्दिरमा विवाहपञ्चमीका लागि गरिने रंगरोगनदेखि भगवानका आभूषणसम्मको तयारी प्रभावित भएको छ ।
‘गर्भगृहमा रहेका भगवानहरुको चाँदीका आभूषण मर्मत तथा थप गर्नुपर्ने छ,’ महन्त दासले भने, ‘विवाहमहोत्सवमा आसनको पनि सौन्दर्यीकरण गरिन्छ । तर सम्बन्धित निकायहरुले फोन र भेटेर कार्य नगर्न भन्नुबाहेक थप जानकारी दिएका छैनन् ।’
जानकी मन्दिर आफैंमा छुट गुठीका रुपमा रहेको इतिहास भए पनि अहिले गुठी संस्थानको पूर्ण मातहतमा छ ।
सरकारले जानकी मन्दिर र यसको आसपासको क्षेत्रलाई संरक्षण गर्ने निर्णय गरेपछि धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको बाटो खुलेको छ । तर संरक्षणको नाममा परम्परागत गतिविधि रोकिएपछि त्यसको व्यवस्थापन कसले गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।
जानकी मन्दिर जनकपुरधामको मात्र धार्मिक धरोहर होइन । यो विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको प्रमुख तीर्थस्थल हो ।
विवाहपञ्चमीमा हजारौँ श्रद्धालु जनकपुरधाम पुग्ने गर्छन् । यस्तो महत्वपूर्ण महोत्सवको तयारी सुरु हुनुपर्ने समयमा मन्दिरको व्यवस्थापन पक्ष नै ‘के गर्ने, के नगर्ने’ भन्ने अन्योलमा रहनुले आगामी विवाहपञ्चमीको व्यवस्थापनमाथि प्रश्न उठेको छ ।
सरकारी निकायले मन्दिरमा काम गर्न रोक लगाएको छ । महन्त काम रोकिएर बसेका छन् । संरक्षित क्षेत्रभित्रको कामको स्पष्ट कार्यविधि छैन । विवाहपञ्चमीको तयारी अघि बढेको छैन । जनकपुर टुडेबाट