सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ

२०८३ श्रावण १५ शुक्रबार
बिहान १०:३० बजे
न्यूज ब्यूरो, डेस्क

पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि हुन सक्छ । धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको कुटीमा बस्दै आएका एक व्यक्तिको घाँटी रेटेर हत्या भएको घटनाको समाचार सम्प्रेषण गर्ने क्रममा हामीबाट यस्तै त्रुटि हुन पुगेको छ ।

घटनापछि स्थानीयस्तरबाट प्राप्त सूचनाका आधारमा मृतकलाई मन्दिरका ‘पूजारी’ भनेर उल्लेख गरिएको थियो । त्यसैअनुसार समाचार प्रकाशित भयो । तर थप बुझ्दै जाँदा मृतक मन्दिरका पूजारी नभई मन्दिरको कुटीमा बस्दै आएका एक साधारण व्यक्ति रहेको तथ्य जानकारीमा आयो । त्यसपछि हामीले समाचारमा तत्कालै आवश्यक सच्याएका छौँ ।

यस घटनामा विशेष कुरा के हो भने, यो सामान्य तथ्यगत त्रुटि मात्र होइन । अहिले मधेशको सामाजिक वातावरण अत्यन्त संवेदनशील अवस्थामा छ । धार्मिक विषय जोडिएको कुनै पनि अपुष्ट वा गलत सूचनाले दुई समुदायबीच अविश्वास, आक्रोश र तनाव बढाउन सक्छ । त्यसैले पत्रकारिता गर्ने क्रममा एउटा शब्दको अर्थ र त्यसले समाजमा पार्न सक्ने प्रभावलाई समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ ।

हामी स्वीकार गर्छौँ—मृतकलाई ‘मन्दिरका पूजारी’ भनेर उल्लेख गर्नु हाम्रो कमजोरी थियो । समाचारको स्रोत स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको भनाइ भए पनि, त्यस्तो संवेदनशील विषयमा थप स्वतन्त्र पुष्टि नगरी समाचार प्रकाशित गर्नु उचित थिएन । यसबाट कुनै समुदाय, धर्म वा व्यक्तिको भावनामा असर परेको भए हामी हार्दिक क्षमायाचना गर्दछौँ ।

तर यो घटनालाई लिएर समाजमा थप गलत बुझाइ, धार्मिक उत्तेजना वा घृणा फैलिन नदिन पनि हामी सबैसँग आग्रह गर्दछौँ । एउटा समाचारमा भएको सच्याउन मिल्ने त्रुटिलाई आधार बनाएर कुनै धर्म वा समुदायप्रति घृणा फैलाउनु समाधान होइन ।

हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध कुनै एउटा घटनाले बनेको होइन र एउटा घटनाले समाप्त पनि हुन सक्दैन । पुस्तौँदेखि सँगै बस्दै आएका नागरिकबीचको सामाजिक सम्बन्ध, पारस्परिक सम्मान र भाइचारालाई केही व्यक्तिको उच्छृंखल गतिविधि वा अपुष्ट सूचनाले कमजोर पार्नु हुँदैन ।

पत्रकारिताको जिम्मेवारी केवल समाचार दिनु मात्र होइन, संकटको समयमा समाजलाई संयमित र जिम्मेवार बनाउनु पनि हो । त्यसैले हामी आगामी दिनमा यस्ता संवेदनशील घटनामा तथ्यको थप पुष्टि, स्रोतको पुनः परीक्षण र जिम्मेवार भाषाको प्रयोगलाई अझ कडाइका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

“धर्मका नाममा घृणा होइन, मानवताको पक्षमा आवाज उठाऔँ ।, अपुष्ट सन्देश, भिडियो र पोस्ट सेयर नगरौँ ।, एकअर्काको धर्म र आस्थाको सम्मान गरौँ ।
र, कुनै पनि घटनाको निष्कर्ष तथ्य र कानुनले निकाल्न दिऔँ ।” हाम्रो आग्रह पनि छ । 

न्यूज ब्यूरो नेपाल आफ्नो समाचारप्रतिको जिम्मेवारी स्वीकार गर्दै यस घटनामा भएको त्रुटिप्रति पुनः क्षमायाचना गर्दछ । अहिलेको आवश्यकता आरोप–प्रत्यारोप होइन, सत्य, संयम, सद्भाव र सामाजिक एकता हो ।

- सम्पादक

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ श्रावण १५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus