मिथिला बिहारी नगरपालिकाद्वारा ५० करोड बढीको बजेट, कृषि, शिक्षा र डिजिटल सुशासनमा विशेष जोड

२०८३ असार ८ सोमबार
रति ८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड २० लाख ८२ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १२औँ नगरसभामा नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र, दिगो पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ।

उत्पादनमुखी अर्थतन्त्र, दिगो पूर्वाधार, सक्षम जनशक्ति; सुशासन र प्रविधिले समृद्ध मिथिला बिहारीको प्रगति” भन्ने मूल नारासहित ल्याइएको नीति तथा कार्यक्रमले कृषि, रोजगारी, सेवा प्रवाह र प्रविधिमैत्री प्रशासनलाई केन्द्रमा राखेको छ।

नगर प्रमुख राजेन्द्र प्रसाद यादवको अध्यक्षता, नगरपालिकाका कार्यालय प्रमुख उपसचिव उपेन्द्र न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनीकीकरणमा ५० करोड बढीको बजेट प्रस्तुतिकरण गरिएको हो । 

नगरपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि तथा किसानको आयस्तर उकास्न “एक वडा–एक उत्पादन” कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ। कृषि उपज संकलन केन्द्र र कोल्ड स्टोर स्थापना, कृषि विद्युत् अनुदानको निरन्तरता, माटो परीक्षण, अर्गानिक खेती प्रवर्द्धन, व्यावसायिक तरकारी, फलफूल तथा मत्स्यपालन विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। युवा जनशक्तिलाई कृषि उद्यममा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्वाधारतर्फ अधुरा र क्रमागत योजनालाई पहिलो प्राथमिकता दिइने भएको छ। मुख्य सडकहरूको स्तरोन्नति, कालोपत्रे तथा ढलान, कृषि सडकलाई मुख्य सडकसँग जोड्ने योजना, सोलार सडक बत्ती जडान, वडा तथा नगरपालिकाको कार्यालय भवन निर्माण तथा नगरलाई खाल्डाखुल्डीमुक्त बनाउने अभियान सञ्चालन गरिने भएको छ। साथै नगरस्तरीय खेल मैदान, रंगशाला तथा कभर्ड हल निर्माण प्रक्रिया समेत अघि बढाइने भएको छ।

शिक्षा क्षेत्रमा नगरपालिकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ। सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, ICT ल्याब, विज्ञान प्रयोगशाला, सुरक्षित खानेपानी तथा पुस्तकालयको व्यवस्था गरिनेछ। यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरी क्रमशः माथिल्ला कक्षासम्म विस्तार गरिने लक्ष्य राखिएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटप तथा छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्रत्येक विद्यालयमा CCTV जडान गरी नगरपालिकाबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था समेत मिलाइने भएको छ।

स्वास्थ्य क्षेत्रतर्फ १५ शैय्याको नगर अस्पताल निर्माणलाई प्रमुख प्राथमिकता दिइएको छ। विभिन्न वडामा बर्थिङ सेन्टर सञ्चालन, एम्बुलेन्स सेवा विस्तार, नगरस्तरीय प्रयोगशालाको स्तरोन्नति तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन घरदैलोमै USG सेवा उपलब्ध गराउने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ। ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको छ। पाँच वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वास्थ्य बीमामा आबद्ध गरी “पूर्ण स्वास्थ्य बिमित नगरपालिका” बनाउने लक्ष्य लिइएको छ।

डिजिटल सुशासनलाई संस्थागत गर्न नगरपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा एकीकृत सेवा व्यवस्थापन प्रणाली लागू गरिने भएको छ। नागरिक गुनासो व्यवस्थापनका लागि WhatsApp हेल्पलाइन र अनलाइन गुनासो पोर्टल सञ्चालन गरिनेछ। QR कोडमार्फत कर तथा शुल्क भुक्तानी, AI आधारित च्याटबोट सेवा, डिजिटल नागरिक वडापत्र, पेपरलेस प्रशासन तथा सार्वजनिक स्थानमा CCTV र निःशुल्क Wi-Fi सेवा विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ।

पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकासलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ। मिथिला बिहारी मन्दिर, परशुराम तलाउ, ललिया ठाकुर तथा दुर्गा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना अनुसार काम अघि बढाइने भएको छ। मिथिला कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सांस्कृतिक महोत्सव आयोजना, मिथिला कला सिकाइ केन्द्र स्थापना तथा होमस्टे प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन्।

सामाजिक समावेशीकरणतर्फ महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। महिला सशक्तीकरण, बालमैत्री स्थानीय शासन, दलित तथा विपन्न समुदायको क्षमता विकास, खेलाडी सम्मान तथा सामाजिक न्याय प्रवर्द्धनका कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

नगरपालिकाले सार्वजनिक गरेको बजेट अनुसार कुल ५० करोड २० लाख ८२ हजार रुपैयाँमध्ये संघीय सरकारबाट ४५ करोड ५२ लाख ८९ हजार रुपैयाँ, प्रदेश सरकारबाट २ करोड २२ लाख ९३ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट २ करोड ४५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले प्रस्तुत नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, गुणस्तरीय सेवा प्रवाह तथा प्रविधिमैत्री प्रशासनमार्फत “समृद्ध नगर : सुखी नगरबासी” को दीर्घकालीन लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सभामा सबै शाखाका कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य तथा आम नागरिकहरुको समेत सहभागिता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ असार ८ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus