श्रम स्वीकृतिको लागि टोकन प्रणाली हटाइयो, अब आवेदन दिएकै दिन श्रम स्वीकृति हुन्छः मन्त्री साह
मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, सबै श्रमिकलाई न्यूनतम ज्यालाको पहुँच सुनिश्चित गर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान पनि सञ्चालन गर्ने जनाएको छ।

२०८२ चैत १६ सोमबार, बिहान ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति प्रक्रियालाई थप सरल र प्रभावकारी बनाउँदै अबदेखि टोकन प्रणाली हटाएको छ। अब सेवाग्राहीले आवेदन दिएको सोही दिन श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।
आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो। श्रममन्त्री दीपककुमार साह को अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारको शासकीय सुधार कार्ययोजनाअनुसार श्रम तथा रोजगार क्षेत्रका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, कार्यस्थलको स्वास्थ्य तथा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक मापदण्ड तयार गर्ने जनाएको छ। साथै, देशभित्रै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम विस्तार गर्ने, निजी क्षेत्रसँग सहकार्य गर्दै प्रदेशस्तरमा ‘सीप मेला’ आयोजना गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने योजनाहरू अघि सारिएका छन्।
त्यसैगरी, वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न कडा कदम चाल्ने, सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रक्रियालाई अझ सहज बनाउने र समय तथा लागत दुवै घटाउने लक्ष्य राखिएको छ।
मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, सबै श्रमिकलाई न्यूनतम ज्यालाको पहुँच सुनिश्चित गर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान पनि सञ्चालन गर्ने जनाएको छ।
यसका अतिरिक्त, औद्योगिक क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रवर्द्धन, उत्पादन तथा उद्यमशीलता विकासमार्फत आन्तरिक रोजगारी वृद्धि, थप पाँच देशसँग श्रम सम्झौता विस्तार र श्रमसम्बन्धी कानुनहरूमा समसामयिक सुधार गर्ने योजना समेत अघि बढाइएको छ।
यी सबै कार्यक्रमहरूलाई तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…