यस्तो छ बालेनको सचिवालय टिम, प्रमुख सल्लाहकारदेखि पिए, पीएसओसम्म नियुक्त
प्रधानमन्त्रीको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने प्रशासन प्रमुखको जिम्मेवारी सुदिप ढकाललाई दिइएको छ। सूचना, सञ्चार तथा प्रविधि संयोजकको भूमिकामा विवेक मिश्रलाई जिम्मेवारी दिइएको छ।

२०८२ चैत १३ शुक्रबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम गठन सुरु गरेका छन्। प्रारम्भिक चरणमै उनले प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित विभिन्न जिम्मेवारीमा व्यक्तिहरू नियुक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। बेन यसअघि शाहको रणनीतिक सल्लाहकारका रूपमा सक्रिय रहँदै आएका थिए। काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव लड्दादेखि नै उनले शाहलाई नजिकबाट सहयोग गर्दै आएका थिए। राजनीतिक तथा रणनीतिक निर्णयमा उनको प्रभावकारी भूमिका रहने विश्वास गरिएको छ।
यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। रास्वपासँग शाहको राजनीतिक सहकार्य र एकतामा असिमले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले नै रास्वपा सभापति रवि लामिछाने र शाहबीच संवादको वातावरण तयार गरी सहमतिसम्म पुर्याएको बताइन्छ। उक्त सहमतिपछि शाह रास्वपामा आबद्ध भएका थिए।
प्रधानमन्त्रीको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने प्रशासन प्रमुखको जिम्मेवारी सुदिप ढकाललाई दिइएको छ। सूचना, सञ्चार तथा प्रविधि संयोजकको भूमिकामा विवेक मिश्रलाई जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियारलाई जिम्मेवारी दिइएको छ। परियार केही दिनदेखि प्रधानमन्त्री कार्यालयको व्यवस्थापन तथा संरचनागत तयारीमा सक्रिय थिए। यसअघि उनी काठमाडौं महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरिसकेका छन्।
यसैबीच, प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ।
प्रधानमन्त्री शाहले बाँकी सल्लाहकार तथा सचिवालय सदस्यहरूको टुंगो केही दिनभित्रै लगाइने बताएका छन्। उनका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार सचिवालयलाई पूर्णता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री शाह शुक्रबार वैदिक विधिअनुसार शपथ ग्रहण गरेपछि पूजाआजा गर्दै सरकारी निवास बालुवाटार सरेका छन्। शपथ समारोहमा वैदिक तथा बौद्ध परम्पराअनुसार विशेष अनुष्ठान गरिएको थियो, जसले नयाँ सरकारको सांस्कृतिक समावेशितालाई झल्काएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…