आफ्नै श्रीमतिको हत्या गरेर साहले प्रहरीमा दिएका थिए हराएको निवेदन, कलभर्टमा भेटियो लास
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार घरायसी विवादकै कारण रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको आशंका गरिएको छ। घटनापछि शव लुकाउने उद्देश्यले तन्नामा बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि फालिएको प्रहरीले जनाएको छ।

२०८२ चैत ११ बुधबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । विराटनगरमा एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान तीव्र बनाएको छ। विराटनगर महानगरपालिका–१७ स्थित एक कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा मंगलबार साँझ शव भेटिएको थियो।
प्रहरी अनुसन्धानबाट उक्त शव विराटनगर–१५ निवासी कोमलकुमारी साहको रहेको पुष्टि भएको छ। उनी केही दिनदेखि सम्पर्कविहीन रहेको बताइएको छ।
प्रहरीका अनुसार मृतकका श्रीमान् रोशन साहले चैत ८ गते पत्नी हराएको भन्दै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए। तर, अनुसन्धानको क्रममा उनीमाथि नै शंका गहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार घरायसी विवादकै कारण रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको आशंका गरिएको छ। घटनापछि शव लुकाउने उद्देश्यले तन्नामा बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि फालिएको प्रहरीले जनाएको छ।
शव भेटिएको स्थान मृतकको घरबाट करिब ५ किलोमिटर टाढा रहेको छ। शव सडेको र दुर्गन्धित अवस्थामा भेटिएकाले सुरुमा पहिचान गर्न कठिन भएको प्रहरीको भनाइ छ।
स्थानीय बासिन्दाले शव देखेपछि वडाध्यक्षमार्फत प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरी टोलीले शव उद्धार गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ र आवश्यक प्रमाण संकलनको काम भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…