राजदेवी मन्दिरबाट मूर्ति चोरी प्रकरणः जेलबाट भागेका दुई चोर पुनः पक्राउ
गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा जलेश्वर जेलमा रहेका दोषीहरु फरार भएका थिए । सो मध्ये मो. नसरुद्दिन र मो. सरिफ पक्राउ परेका छन् । उनीहरुलाई आज बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ कुचाई टोलबाट पक्राउ गरिएको हो ।

२०८२ फागुन ७ बिहीबार, बेलुकी ७:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको रमदैया भवाडीस्थित रहेको हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थाको मन्दिर राजदेवी मन्दिरबाट मूर्ति चोरी गरी जेल चलान भएर फरार भएकाहरुमध्ये दुई चोर पुनः पक्राउ परेका छन् ।
गत २०७९ सालको फागुन १४ गते राती १२ः०० बजेको समयमा धनुषाको रमदैया भवाडीस्थित रहेको राजदेवी मन्दिरबाट चोरी गरेको आरोपमा पक्राउ परी धनुषा जिल्ला अदालतले उनीहरुलाई कैद सजाय सुनाएर जेल पठाएकोमा जेलबाट फरार भएकाहरु पक्राउ परेका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा जलेश्वर जेलमा रहेका दोषीहरु फरार भएका थिए । सो मध्ये मो. नसरुद्दिन र मो. सरिफ पक्राउ परेका छन् । उनीहरुलाई आज बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ कुचाई टोलबाट पक्राउ गरिएको हो ।
जेनजी आन्दोलनमा जेलबाट भागेका उनीहरु महेन्द्रनगरस्थित गिरि निवासमा बस्दै आएको बताईएको छ । मन्दिर निर्माणकर्तामध्येका धीरज यादवका अनुसार, उनीहरुले भदौदेखि नै जेलबाट भागेर पुनः घर आएको जानकारी पाएपछि प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरी जेल पठाएका हुन् ।
२०७९ साल फागुन १४ गते राती क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित सो मन्दिरबाट राजदेवी मन्दिरको ताला तोडी मन्दिरमा रहेको राजदेवीको चाँदीको मूर्ति, मुकुट, अर्धवृत आकारको वस्तु (पाता), गिलास, सुनको मँगटीका, देवीको नथिया, सिक्री, झुम्का लगायतको सुनचाँदीको सरसमानहरु चोरी गरी भागेका थिए ।
चोरी भएको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मन्दिरमा मुचुल्का गर्दै सिसिटिभी फुटेजमा रेकर्ड भएको भिडियो र मावन इन्टेलिजेन्सको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । धनुषा प्रहरीले गोप्य अपरेशन र तीव्र सक्रियता बढाएपछि उनीहरुलाई एक साताभित्रै पक्राउ गर्न सफल भए ।
राजदेवी मन्दिरमा चोरी गर्नेहरुमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहम्मद, वडा नं. ४ बस्ने बर्ष २१ को मोहम्मद हबगुल्ला, धनुषाको कमला नगरपालिका वडा नम्बर ७ हथमुण्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, विदेह नगरपालिका वडा नम्बर ४ ढाडी बस्ने बर्ष २२ को नसुँदिन साह र बर्ष ३० को सरिफ मुसलमान रहेका छन् ।
उनीहरुसँगै एक बर्षपछि भारतका रामहरे मण्डल र धनुषा कुचाइ टोलकै मो. नसिब समेत पक्राउ गरी जेल गएका थिए । यो घटनामा ७ जना चोर पक्राउ परेका थिए । भागेपछि दुई जना पक्राउ परेका छन भने अन्यको खोजी भईरहेको छ ।
मन्दिरबाट राजदेवीको मूर्तिसहित चाँदीको पिढी २ किलो चाँदीको, २५ तोलाको चाँदीको मुकुट, १ किलोको चाँदीको झाँप, आधा किलोको चाँदीको थाली, १५ तोलाको चाँदीको लोटा, १२ तोलाको चाँदीको घण्टी, ६ आनाको सुनको मँगटीका, १० आनाको देवीको सुनको नथिया, ४ आनाको सुनको सिक्री, १ आनाको देवीको सुनको नाकको टप र ६ आनाको सुनको कानको बाली चोरी गरेका थिए ।
उनीहरुको साथबाट सबै समानहरु, मुकुट, राजदेवीको मुखौटा, गरगहना र अन्य समानहरु बरामद भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…