बालेनको सम्पर्क कार्यालय तोडफोड सम्बन्धी Ai बाट भ्रामक तस्वीर फैलाएको पुष्टि, प्रशासनद्धारा कारवाहीको चेतावनी
निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिइने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले आम नागरिकलाई सूचना पुष्टि नगरी सामाजिक सञ्जालमा सेयर नगर्न र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

२०८२ माघ २३ शुक्रबार, बेलुकी ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, झापा । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता Ai प्रविधिको दुरुपयोग गर्दै भ्रामक सूचना तथा नक्कली तस्वीरहरू फैलाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
प्रशासनका अनुसार झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिका वडा नं. २ स्थित क्याम्पा बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालिन शाह ९बालेन० को सम्पर्क कार्यालय रहेको घरमा तोडफोड भएको भनी अतिरञ्जित र भ्रामक तस्वीर सामाजिक सञ्जालमार्फत फैलाइएको पाइएको छ।
जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ कि सामाजिक सञ्जालमा भाइरल भएका ती तस्वीरहरू एआई प्रविधि प्रयोग गरी बनाइएका नक्कली तस्वीरहरू हुन्, जसले वास्तविक घटनास्थितिभन्दा फरक र गम्भीर प्रकृतिको क्षति भएको झुटो सन्देश प्रवाह गरेको देखिएको छ। प्रशासनले वास्तविक घटनास्थितिको तस्वीर र एआई प्रयोग गरी बनाइएको भ्रामक तस्वीरलाई तुलना गरेर सार्वजनिकसमेत गरेको छ।
यस प्रकारका भ्रामक समाचार तथा गलत सूचना प्रचार–प्रसारले आम नागरिकलाई भ्रममा पार्नुका साथै सामाजिक सद्भावमा असर पार्ने भएकाले यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिइने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले आम नागरिकलाई सूचना पुष्टि नगरी सामाजिक सञ्जालमा सेयर नगर्न र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
उक्त सूचना जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसादद्वारा जारी गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…