प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत अन्य संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिने जनाएको छ ।

२०८२ माघ २१ बुधबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि नेपाली सेना परिचालनमा आएको छ ।
सरकारले यसअघि नै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरिएको हो ।
एकीकृत सुरक्षा योजनाअनुसार भर्ना गरिएका निर्वाचन प्रहरी पनि परिचालन हुनेछन् । मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ । बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
नेपाली सेनाले आजदेखि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन प्रयोजनका लागि आफ्ना फौज परिचालन गरेको जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।
सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई लक्षित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा गरिनेछ भने अन्य सुरक्षा निकायसँग समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ । निर्वाचन सुरक्षाका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ ।
एकीकृत सुरक्षा योजनाको मार्गदर्शनअनुसार मतदानको एक महिना अघिदेखि नै सेनालाई फिल्डमा परिचालन गरिएको हो । सेनाले मतपत्र छपाइ तथा ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत अन्य संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…