हाजिर सरकारीमा, ड्यूटी निजीमा: जनकपुर आयुर्वेद अस्पतालमा अनियमितता

२०८२ माघ २१ मंगलबार
बिहान ०८:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम–१४, मुजेलियास्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यालय समयमा प्रमुख चिकित्सक नदेखिँदा सेवाग्राही मर्कामा परेका छन्। कार्यालय प्रमुख डा. महारुद्र कुमार ठाकुर भने सरकारी अस्पतालमा हाजिर गरेर निजी क्लिनिकमा व्यस्त हुने गरेको आरोप लागेको छ।

माघ ११ गते आइतबार बिहान ठीक ११ः२५ बजे अस्पतालको ओपीडीमा चेकजाँचका लागि टिकट लिने तथा जाँच गराउने बिरामीको हल्का भीड थियो। तर १० बजेदेखि चिकित्सकको प्रतीक्षामा बसेका बिरामीहरू दिउँसो १ बजेसम्म पनि प्रमुख चिकित्सकको सेवा पाउन सकेनन्। अस्पताल तल्लो तहका केही चिकित्सक, एकजना वैद्य, कविराज तथा करारका कर्मचारीको भरमा सञ्चालन भइरहेको देखिन्थ्यो। तर कार्यालय प्रमुख डा. ठाकुर भने उपस्थित थिएनन्, जबकि उनको हाजिर भने बिहान १० बजे नै भएको देखिन्थ्यो।

यस्तै अवस्था सोमबार र मंगलबार पनि दोहोरिएको पाइएको छ। सोमबार दिउँसो १२ बजे र मंगलबार दिउँसो १ बजेर ३० मिनेट जाँदासमेत डा. ठाकुरको हाजिर भए पनि उनी कार्यालयमा देखिएका थिएनन्। कर्मचारीहरूका अनुसार उनी दैनिकजसो बिहान १० बजे आसपास आएर हाजिर गर्ने, केही बेर बसेर बाहिरिने र कार्यालय समय सकिन लाग्दा पुनः आएर हाजिर गर्ने गरेको देखिएको छ।

नाम नबताउने शर्तमा एक कर्मचारीले भने,-“हाकिम साब आउनु त हुन्छ, तर बस्नुहुन्न। बिहान हाजिर गरेर निजी क्लिनिक जानुहुन्छ। दिउँसो ३–४ बजेतिर फेरि आएर हाजिर गर्नुहुन्छ।”

कर्मचारीहरूका अनुसार डा. ठाकुर सरकारी अस्पतालमा हाजिर गरेर जनकपुरधाम उपमहानगरपालिका–६, बाह्रविघास्थित आफूले सञ्चालन गरेको जानकी अल्ट्रासाउण्ड एण्ड इमेजिङ सेन्टरमा अधिकांश समय बिताउने गरेका छन्। सरकारी सेवा समयमै निजी क्लिनिक सञ्चालन गरी तलब–भत्ता लिने कार्यलाई उनीहरूले “गोरख धन्दा” को संज्ञा दिएका छन्।

यति मात्र होइन, मधेश प्रदेश सरकारअन्तर्गत विगत दुई वर्षदेखि सञ्चालनमा ल्याइनुपर्ने स्वर्णविन्दु प्राशनलगायतका कार्यक्रम जनकपुरस्थित कार्यालयमा बजेट हुँदाहुँदै पनि कार्यान्वयन हुन नसकेको कर्मचारीहरूको गुनासो छ। रेडबुकमा बजेट समावेश भए पनि कार्यक्रम अघि नबढ्दा बजेट फ्रिज हुँदै आएको उनीहरूको दाबी छ, जबकि मधेशका अन्य सात जिल्लामा भने ती कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको बताइन्छ।

डा. महारुद्र कुमार ठाकुर संघीय सरकारअन्तर्गत नरदेवी आयुर्वेद चिकित्सालय, काठमाडौंको दरबन्दीमा रहे पनि विगत पाँच–छ वर्षदेखि काजमा मधेश प्रदेशमै कार्यरत छन्। संघीय कर्मचारी तीन वर्षभन्दा बढी काजमा बस्न नपाउने व्यवस्था रहे पनि उनी लामो समयदेखि मधेशमै कार्यरत रहनुले प्रश्न उठेको छ। यसअघि पनि जनकपुर आयुर्वेद औषधालयको प्रमुख हुँदा उनले हाजिर गरेर निजी क्लिनिकमा काम गरेको भन्दै समाचार प्रकाशित–प्रसारित भएका थिए।

यसैबीच, जनकपुरधामका विभिन्न अल्ट्रासाउण्ड सेन्टरमा कार्यरत रेडियोलोजिस्टहरूले डा. ठाकुर आयुर्वेद चिकित्सक भए पनि रेडियोलोजी विषयमा एमडी नगरेको तथा नेपाल मेडिकल काउन्सिलबाट आवश्यक इजाजत नलिई भिडियो एक्स–रे तथा अल्ट्रासाउण्डसम्बन्धी सेवा सञ्चालन गरिरहेको आरोपसमेत लगाएका छन्।

यी सबै विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिनको माग बढ्दै गएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ माघ २१ मंगलबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus